गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११५औँ बैठकको निर्णयअनुसार अष्ट्रेलियामा लामो समयदेखि सक्रिय समाजसेवी तथा सफल व्यवसायी कृष्णमान श्रेष्ठ एनआरएनएको २०२५–२०२७ कार्यकालका लागि ओसियाना क्षेत्रीय उपसंयोजकमा मनोनित भएका छन्।

श्रेष्ठ हाल एनआरएनए अष्ट्रेलियाका पूर्व उपाध्यक्ष, एनआरएनए वेस्टर्न अष्ट्रेलियाका पूर्व संयोजक तथा नागरिकता निरन्तरता कार्यदलका निवर्तमान सदस्य हुन्। लामो समयदेखि नेपाली समुदायको हित, सामाजिक सेवामा सक्रिय भूमिका र संस्थागत नेतृत्वका कारण उनी एनआरएनए अभियानमा परिचित व्यक्तित्वका रूपमा स्थापित छन्।

पश्चिमी अष्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएका श्रेष्ठले विगत दुई दशकभन्दा बढी समयदेखि हिमाली गोरखा नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। उक्त रेष्टुरेन्ट पर्थमा स्थापना भएको सबैभन्दा पुरानो नेपाली रेष्टुरेन्टका रूपमा परिचित छ। नेपाली परिकारको प्रवर्द्धनसँगै नेपाली संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउन उनको महत्वपूर्ण योगदान रहेको मानिन्छ।

मनोनयनपछि प्रतिक्रिया दिँदै श्रेष्ठले आफूलाई दिएको जिम्मेवारीलाई सम्मानका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कृष्णमान श्रेष्ठ एनआरएनए ओसियाना क्षेत्रीय उपसंयोजकमा मनोनित

उनले भने –‘एनआरएनए आईसीसीले मप्रति देखाएको विश्वासप्रति म अत्यन्त आभारी छु। यो पद व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण ओसियाना क्षेत्रका नेपालीहरूको साझा जिम्मेवारी हो। सबै देशमा रहेका नेपाली समुदायलाई अझ नजिक ल्याउने, युवालाई नेतृत्वमा जोड्ने, व्यवसायी, विद्यार्थी तथा नयाँ पुस्तासँग समन्वय बढाउने र संस्थालाई थप प्रभावकारी बनाउने दिशामा इमान्दारीपूर्वक काम गर्नेछु।’

श्रेष्ठले विगतका अनुभवले आगामी कार्यकालमा थप प्रभावकारी रूपमा काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबैको साथ, सहयोग र सुझावको अपेक्षा पनि गरेका छन्।

एनआरएनए अभियानमा उनको लामो अनुभव, नेतृत्व क्षमता र समुदायप्रतिको समर्पणलाई ध्यानमा राख्दै गरिएको यो मनोनयनले ओसियाना क्षेत्रमा रहेका नेपाली समुदायबीच थप उत्साह र विश्वास जगाएको स्थानीय नेपालीहरूको भनाइ छ।

यसैबीच, श्रेष्ठको मनोनयनपछि अष्ट्रेलिया तथा ओसियाना क्षेत्रका विभिन्न सामाजिक संघसंस्था, व्यवसायी, शुभेच्छुक तथा नेपाली समुदायले सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।