काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महिला उपाध्यक्ष राधिका गुरुङ (टिका)को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग शिष्टाचार भेटघाट गरेको छ।

भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको प्रगति तथा प्रभावबारे मन्त्री बादीलाई जानकारी गराएको थियो। उक्त परियोजनामार्फत सडकबाट उद्धार गरिएका ५० जना बालबालिकाको संरक्षण, शिक्षा तथा पुनर्स्थापनामा सहयोग उपलब्ध गराइएको जनाइएको छ।

यसैगरी, आगामी महिला विश्व सम्मेलनको तयारीबारे पनि मन्त्रीसमक्ष जानकारी प्रस्तुत गरिएको थियो। सम्मेलनलाई सफल बनाउन भइरहेको तयारी र अपेक्षित अन्तर्राष्ट्रिय सहभागिताबारे प्रतिनिधिमण्डलले आफ्नो योजना राखेको थियो।

एनआरएनए उपाध्यक्ष राधिका गुरुङ नेतृत्वको प्रतिनिधीमण्डल र मन्त्री सीता बादीबीच भेटघाट

भेटका क्रममा मन्त्री बादीले संघका गतिविधिहरूको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा गरिने कार्यक्रमहरूमा सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो।

उक्त भेटमा उपाध्यक्ष रोजिना प्रधान राई, महिला संयोजक रश्मि थापा, युरोप क्षेत्रीय महिला संयोजक राधा सिग्देल, एसिया–प्रशान्त क्षेत्रीय महिला संयोजक संगीता सुबेदी अधिकारी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्रको समेत उपस्थिति रहेको थियो।