काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियाबीच अन्ततः अध्यक्ष पदमा सहमति जुट्ने निश्चित भएको छ । अन्तिम समयमा अध्यक्षका प्रत्याशी रविन बज्राचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिँदै डा. हेमराज शर्मालाई समर्थन गरेपछि शर्मा सर्वसम्मत अध्यक्ष बन्ने लगभग निश्चित भएको हो।

एनआरएनएको एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अघि बढिरहँदा पछिल्लो चरणमा सहमतिको वातावरण बलियो बनेको हो। अध्यक्षका उम्मेदवार बज्राचार्यले अध्यक्ष पदबाट पछि हट्दै उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराउने निर्णय गरेपछि अध्यक्ष पदमा डा. शर्माको मार्ग खुला भएको हो।

यसअघि नै अध्यक्षका अर्का प्रत्याशी रोविन शेरचनले पनि संस्थाको एकता र महाधिवेशनको गरिमा कायम राख्नुपर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर डा. शर्मालाई समर्थन गरेका थिए। शेरचनले बरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। प्रमुख प्रतिस्पर्धीहरू नै सहमतिमा पुगेपछि डा. हेमराज शर्मा सर्वसम्मत अध्यक्ष चयन हुने अवस्था बनेको हो।

महाधिवेशनको अन्तिम चरणमा सहमतिको वातावरण बनेसँगै संस्थाभित्र देखिएको ध्रुवीकरण अन्त्य गर्ने प्रयाससमेत तीव्र भएको बताइएको छ। विभिन्न पदहरूमा उम्मेदवारबीच समझदारी कायम गराउने प्रयास भइरहेको र पदाधिकारीका धेरैजसो पदहरूमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने तयारी भएको स्रोतहरूले जनाएका छन्।

यसक्रममा पदाधिकारीतर्फ हालसम्म २० जनाभन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदहरूमा पनि सहमतिको प्रयास जारी रहेको बताइएको छ। सहमतिमार्फत नेतृत्व चयन गर्न सके संस्थाभित्र विगत केही समयदेखि देखिँदै आएको गुटीय विभाजन कम भई संगठनात्मक एकता अझ मजबुत हुने अपेक्षा गरिएको छ।

एनआरएनएभित्र लामो समयदेखि नेतृत्व र वैधानिकतासम्बन्धी विवाद तथा ध्रुवीकरण देखिँदै आएको सन्दर्भमा एकता महाधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयन हुनुले संस्थालाई नयाँ दिशा दिने विश्वास गरिएको छ। नयाँ नेतृत्वले विश्वभर रहेका नेपाली समुदायको हकहित, लगानी प्रवर्द्धन तथा नेपालको विकासमा गैरआवासीय नेपालीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।