काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष पदका लागि रोजीना प्रधान राईले उम्मेदवारी दर्ता गराएकी छिन। आगामी कार्यकाललाई लक्षित गर्दै उनले प्रवासी नेपालीहरूको हित, अधिकार र सहभागितालाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएको बताएकी हुन्।
लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायका सामाजिक, सांस्कृतिक तथा संस्थागत गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी राईले एनआरएनएलाई अझ प्रभावकारी, पारदर्शी र समावेशी संस्था बनाउने लक्ष्यका साथ उम्मेदवारी दिएको बताइन्। उनले विश्वभर रहेका नेपालीहरूको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त रूपमा उठाउँदै उनीहरूको समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन्।
उम्मेदवारी घोषणा गर्दै राईले विशेषगरी महिला नेतृत्वलाई सशक्त बनाउने, युवाको सहभागिता बढाउने तथा विश्वभर रहेका नेपालीहरूबीच आपसी एकता र सहकार्यलाई मजबुत बनाउने योजना अघि सारेकी छन्। साथै प्रवासी नेपालीहरूको सीप, ज्ञान र लगानीलाई नेपालसँग जोड्ने पहललाई पनि प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।
राईका अनुसार एनआरएनए केवल प्रवासी नेपालीहरूको संगठन मात्र नभई विश्वभर फैलिएका नेपालीहरूलाई जोड्ने साझा मञ्च भएकाले यसको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक छ। त्यसका लागि संस्थाभित्र पारदर्शिता, उत्तरदायित्व र सक्रियता बढाउने दिशामा आफूले विशेष पहल गर्ने उनको भनाइ छ।
एनआरएनए आईसीसीको आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भइरहेको छ। यही क्रममा रोजीना प्रधान राईको उम्मेदवारीले प्रवासी नेपाली समुदायमा नयाँ चर्चा र उत्साह थपिएको बताइन्छ। धेरैले उनको सक्रियता, अनुभव र नेतृत्व क्षमतालाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
प्रवासी नेपालीहरूको हित, अधिकार र पहिचानलाई सुदृढ बनाउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएकी राईले आफ्नो अभियानमा विश्वभर रहेका नेपालीहरूको साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेकी छन्।








