गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी १२औँ महाधिवेशन तथा निर्वाचनका लागि भीमसेन थापा काजीले युवा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
विश्वभर रहेका नेपाली समुदायलाई सम्बोधन गर्दै थापा काजीले प्रवासी नेपाली युवाको आवाजलाई सशक्त बनाउने, एनआरएनएलाई अझ गतिशील, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्यसहित आफू उम्मेदवारीमा अघि बढेको बताएका छन्। उनले यस अभियानलाई सफल बनाउन विश्वभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ, सहयोग र विश्वासको अपेक्षा समेत व्यक्त गरेका छन्।
थापा काजीका अनुसार आगामी कार्यकालमा प्रवासी नेपाली युवाको सहभागिता बढाउँदै संस्थालाई थप प्रभावकारी बनाउने प्राथमिकता रहनेछ। उनले विशेषगरी विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी र व्यवसायीहरूको समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले एनआरएनएलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा सुदृढ बनाउन पहल गर्ने, नेपाली युवाहरूको नेतृत्व विकासका लागि अन्तर्राष्ट्रिय स्तरको नेटवर्क निर्माण गर्ने तथा प्रविधि र डिजिटल प्लेटफर्ममार्फत विश्वभरका नेपालीलाई अझ सशक्त रूपमा जोड्ने योजनासमेत सार्वजनिक गरेका छन्।
त्यस्तै, प्रवासी नेपालीहरूको अधिकार, सुरक्षा र सम्मानका लागि सशक्त आवाज उठाउने आफ्नो प्रमुख एजेन्डा रहेको उनले उल्लेख गरेका छन्।
आगामी निर्वाचनमा आफूलाई युवा उपाध्यक्ष पदमा विजयी गराउन प्रवासी नेपाली समुदायसँग मत र समर्थनका लागि उनले हार्दिक अपिल गरेका छन्।
थापा काजीले “सशक्त युवा, एकताबद्ध एनआरएनए, समृद्ध प्रवासी नेपाली” भन्ने नारासहित आफ्नो उम्मेदवारी अघि बढाएको बताएका छन्।








