गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) उपाध्यक्ष पदका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका दिनेश पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौँमा यही मार्च १४ देखि १६ तारिखसम्म हुने एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै उनले आइसीसी उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्। संस्थालाई एक ढिक्का बनाउँदै प्रभावकारी रूपमा अघि बढाउने संकल्पसहित आफूले उम्मेदवारी दिएको पोखरेलले उल्लेख गरेका छन्।

उनले एनआरएनए अभियानलाई एकताबद्ध, सक्रिय र परिणाममुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँदै यस अभियानमा विश्वभर रहेका नेपालीहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको जनाएका छन्।

हाल ओसियाना क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हालिरहेका पोखरेल लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। अष्ट्रेलिया तथा ओसियाना क्षेत्रमा रहेका नेपाली समुदायका समस्या, अधिकार र हितका विषयमा उनले निरन्तर आवाज उठाउँदै काम गर्दै आएका छन् ।

पोखरेल एनआरएनएका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका व्यक्ति हुन्। उनले प्रवासी नेपालीहरूको एकता, समन्वय र संस्थागत सुदृढीकरणका लागि निरन्तर पहल गर्दै आएका छन्।

त्यस्तै, उनी अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष समेत हुन्। हाल सो संस्थामा संरक्षकको भूमिकामा रहेर विश्वभर रहेका झापाली समुदायलाई संगठित गर्ने कार्यमा पनि संलग्न रहेका छन्।

एनआरएनएको एकता, संस्थागत मजबुती र बाँकी रहेका एजेण्डाहरूलाई कार्यान्वयनमा ल्याउने उद्देश्यले आफूले उम्मेदवारी दिएको पोखरेलले बताएका छन्। एनआरएनए मार्फत नेपाल र नेपाली समुदायको हितमा थप प्रभावकारी ढंगले काम गर्ने आफ्नो प्रतिबद्धता रहेको उनले उल्लेख गरेका छन्।

आगामी महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले संस्थालाई थप सशक्त बनाउँदै विश्वभरका नेपालीहरूको साझा संस्थाका रूपमा एनआरएनएलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।