काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचन ले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन्। आगामी मार्च १४ देखि १६ (फागुन ३० देखि चैत २ गते) सम्म काठमाडौँमा तय गरिएको महाधिवेशनको पूर्वसन्ध्यामा एक विशेष अपिल जारी गर्दै उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्र देखिएका प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया रोकिनु आवश्यक रहेको बताएका हुन्।
शेरचनले विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमलाई मुख्य कारणका रूपमा उल्लेख गरेका छन्। संकटका कारण हजारौँ नेपाली प्रभावित भएको र केहीले ज्यानसमेत गुमाएको अवस्थालाई संकेत गर्दै उनले यस्तो संवेदनशील घडीमा चुनावी प्रतिस्पर्धाभन्दा मानवीय दायित्व प्राथमिक हुनुपर्ने जिकिर गरे। संकटमा परेका नेपालीहरूको उद्धार, सहजीकरण र मनोबल उच्च राख्नु नै एनआरएनएको मूल मर्म भएको उनको भनाइ छ।
उनका अनुसार मध्यपूर्वको अस्थिर अवस्थाका कारण युरोप, अमेरिका तथा मध्यपूर्वबाट महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको यात्रा असुरक्षित र अनिश्चित बनेको छ। व्यापक र सुरक्षित सहभागिताविनाको महाधिवेशन अपूर्ण हुने उल्लेख गर्दै उनले वर्तमान अवस्था सहज नहुन्जेलसम्म निर्वाचन समितिले सम्पूर्ण कार्यतालिका स्थगन गर्नुपर्ने बताएका छन्।
शेरचनले संस्थाभित्रका प्राविधिक र वैधानिक पक्षमा पनि गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। कुल पञ्जीकृत सदस्यहरूको प्रमाणीकरणसहितको आधिकारिक विवरण सार्वजनिक नगरिएको, शुल्क नबुझाएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र सदस्यहरूको सूची अपारदर्शी रहेको तथा विधानले तोकेको ३० दिनको अनिवार्य समयसीमा पालना नगरिएको उनले औंल्याएका छन्। यस्ता त्रुटि सच्याई प्रक्रियागत विवाद निष्पक्ष रूपमा समाधान गरेपछि मात्र महाधिवेशन अघि बढाउनुपर्ने उनको धारणा छ।
यद्यपि, सबै समस्या हुँदाहुँदै पनि महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था आएमा चुनावी प्रतिस्पर्धाबाट नभई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न उनले आह्वान गरेका छन्। सन् २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण उत्पन्न फुट र तिक्तता अझै समाधान नभएको स्मरण गराउँदै उनले पुनः त्यस्तै अवस्था दोहोरिन नदिन सचेत रहन आग्रह गरेका छन्।
“मेरो लागि पदभन्दा संस्था र संस्थाभन्दा यसको विश्वसनीयता एवं मर्यादा माथि छ,” उनले अपिलमा उल्लेख गरेका छन्। विवादित प्रक्रियामा सहभागी भएर संस्थाको गरिमा कमजोर बनाउने काम आफूबाट नहुने स्पष्ट पार्दै उनले परिस्थिति सामान्य भई सबै प्रतिनिधिहरूले सुरक्षाको प्रत्याभूति पाएपछि बृहत्तर एकतासहित महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरेका छन्।
शेरचनले संकटको समयमा सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई धैर्य, संयमता र एकताका लागि अपिलसमेत गरेका छन्।








