काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राज रेग्मीले संस्थाको वास्तविक एकता, गरिमा र भविष्य जोगाउन विश्वभर छरिएर रहेका गैरआवासीय अभियन्ता, एनआईसीसी तथा एनसीसी पदाधिकारी र प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन्।
रेग्मीले सामाजिक सञ्जाल फेसबुकमार्फत एनआरएनएको स्थापना प्रवासमा रहेका नेपालीहरूको हक–हित संरक्षण, मातृभूमिसँगको भावनात्मक, सामाजिक तथा आर्थिक सम्बन्ध सुदृढ बनाउने र समृद्ध नेपालको साझा सपना साकार पार्ने उदात्त उद्देश्यसहित भएको स्मरण गराएका छन्। विगतमा आपतविपतमा देशलाई दिएको साथ, लगानी, सीप र अन्तर्राष्ट्रिय पहुँचमार्फत नेपालको गरिमा उकास्न संस्थाले उल्लेखनीय भूमिका खेलेको उनले उल्लेख गरेका छन्।
तर हाल संस्थाभित्र बढ्दो गुट–उपगुट, आरोप–प्रत्यारोप, कानुनी विवाद र पदीय स्वार्थले मूल उद्देश्य ओझेलमा परेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। “उद्देश्यभन्दा पद, अभियानभन्दा गुट र सेवाभन्दा स्वार्थ हाबी हुँदा संस्थाको साख मात्र गिरेको छैन, आशा पनि क्षीण बन्दै गएको छ,” उनले भनेका छन्। विशेषतः निस्वार्थ भावनाका साथ अभियानमा जोडिएका युवाहरू निराश बन्दै गएको उनको भनाइ छ।
एकताको महाधिवेशन नजिकिँदै गर्दा विभाजित एनसीसीहरूको समायोजन पूर्ण नभएको, कतिपय स्थानमा डेलीगेट्सको अन्तिम नामावली विधानअनुसार टुंगो नलागेको तथा आईसीसी पदाधिकारीहरूबीच पर्याप्त समन्वय र संवादको अभाव रहेको उनले औंल्याएका छन्। समग्र कार्यसमितिसँग पर्याप्त छलफल नगरी आएका केही निर्णय संस्थाको दीर्घकालीन हितमा नहुन सक्ने चेतावनी समेत उनले दिएका छन्।
मध्यपूर्व क्षेत्रको जटिल परिस्थिति र हवाई सेवा अवरोधका कारण त्यहाँका प्रतिनिधिहरूको सहभागिता अनिश्चित देखिएको तथा अन्य देशबाट आउने प्रतिनिधिहरूले पनि चुनौती सामना गरिरहेको उल्लेख गर्दै सीमित व्यक्तिहरूको आन्तरिक छलफलबाट मात्र “एकता” सम्भव नहुने उनको धारणा छ।
दीर्घकालीन एकता हतारको निर्णयबाट नभई विश्वास र सहमतिबाट मात्र निर्माण हुने बताउँदै रेग्मीले पाँच बुँदे प्रस्ताव अघि सारेका छन्। जसअनुसार अनुकूल मितिमा सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्ने, विधान तथा डेलीगेट प्रमाणीकरण र विभाजित संरचनाको समायोजन टुंगो लगाउने, गुट–उपगुटभन्दा माथि उठेर सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने, आवश्यक परे बन्दसत्रपछि मात्र उम्मेदवारी घोषणा गर्ने व्यवस्था गर्ने तथा भविष्यमा कानुनी विवाद नदोहोऱ्याउने स्पष्ट सहमति र दीर्घकालीन कार्यदिशा तय गर्ने विषय समेटिएका छन्।
“आजको निर्णयले केवल नेतृत्व चयन मात्र होइन, एनआरएन अभियानको अस्तित्व, विश्वसनीयता र आगामी पुस्ताप्रतिको जिम्मेवारी निर्धारण गर्नेछ,” उनले उल्लेख गरेका छन्। पुरानो सोच, शैली र अहंकार त्याग्दै समर्पित, विवादमुक्त र बृहत् एकताको भावनामा अडिएको नेतृत्व आवश्यक रहेको उनले जोड दिएका छन्।
अन्त्यमा उनले सबैलाई सहमति, समावेशिता र दीर्घकालीन हितलाई प्राथमिकता दिँदै “एकता बचाऔं, अभियान सुदृढ बनाऔं” भन्ने आह्वान गरेका छन्।








