गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा आइसीसी उपमहासचिव प्रविन गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कतार हुँदै अमेरिकालाई कर्मथलो बनाएका गुरुङ एनआरएनए अभियानलाई निरन्तरता दिदै आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा रहेर काम गर्ने निष्कर्षमा पुगेका हुन् ।

एनआरएनए अभियानमा लाग्दा विश्वमा रहेका नेपालीको मन जितेका गुरुङ आगामी महाधिबेशनमा एनआरएनए एकता र सहकार्यका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

२०१५–१७ मा एनआरएनए कतारका उपाध्यक्ष,२०१७ –१९ मा मध्यपूर्व उपसंयोजक २०१९–२०२१ मा मध्यपूर्व संयोजक, २०२१–२०२३ मा सचिवमा निर्विरोध निर्वाचित हुँदै २०२३–२५ कार्यकालका लागि उपमहासचिवमा सर्वाधिक मत ल्याएर विजयी भएका गुरुङ एनआरएनए अभियानमा संभावना बोकेका नेतृत्व हुन् ।

आफू खुल्ला हृदयबाट सामाजिक काम गर्न आएकाले एनआरएनए अभियन्ताहरुले आफूमाथि बिश्वास गरेको र आगामी दिनमा पनि त्यो बिश्वास टुट्न नदिने गुरुङको प्रतिवद्धता छ ।

गैरआवासीय नेपालीहरुको हकहितका लागि आफूले सक्रिय भएर काम गरिरहेको जनाउँदै गुरुङले गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि आवश्यक रहेको धारणा राख्दछन् ।

एनआरएनएभित्र देखिएको मतभेद र विवादलाई अन्त्य गर्दै संस्थालाई एकताबद्ध बनाउने गुरुङको प्रतिवद्धता रहेको छ । “देश र नेपालीका लागि स्थापना भएको संस्था आफैंभित्र जुधेर बस्नु हुँदैन,” भन्ने उनको स्पष्ट धारणा छ । पारदर्शिता, सहभागिता र जवाफदेहितालाई प्राथमिकता दिने नेतृत्व आवश्यक रहेको उनको तर्क छ ।

एनआरएनए आइसीसी उपमहासचिव गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गर्दै आइरहेका छन् ।

गुरुङले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए ।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा अग्रसरता देखाएका थिए ।

गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेपछि गैर आवासीय नेपाली संघमा आवद्द भएका हुन । उनले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवर्दन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको अन्तर्राष्ट्रिय रेष्टुरेन्ट सञ्चालन गरेका छन । उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत विस्तार गरिसकेका छन । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट,हाईड्रो लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन ।

गुरुङले आफुले सबै एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावलाई स्विकार्दै उपमहासचिवपछि क्रमिक रुपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोले यसलाई साथ र समर्थन गर्न बिश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन ।