काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी थालेका छन ।

लामो समयदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका शेरचनले एनआरएनएभित्र देखिएको विभाजन अन्त्य गर्दै सबै गैरआवासीय नेपालीले अपनत्व महसुस गर्ने एकताबद्ध संस्था निर्माण गर्ने लक्ष्यसहित नेतृत्वमा आउन लागेको बताएका छन् ।

शेरचनले सन् २०२६ फेब्रुअरी १० मा जापानको टोकियोस्थित ‘बातुर टोकियो’ मा विशेष कार्यक्रम आयोजना गरी औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका छन् । उक्त कार्यक्रममा प्रत्यक्ष उपस्थितिसँगै विश्वभर रहेका गैरआवासीय नेपालीले जुममार्फत पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

पछिल्ला १५ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय शेरचनले अघिल्लो महाधिवेशनमा देखिएका कमजोरीबाट पाठ सिक्दै ‘एक मन–एक संगठन’ को भावनाका साथ संघलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

उनका मुख्य एजेन्डामा संस्थागत एकता, समानता, नागरिकता र मताधिकारको सुनिश्चितता, मर्यादित वैदेशिक रोजगार, लगानी प्रवर्द्धन तथा पारदर्शी र जवाफदेही संगठन निर्माण रहेका छन्। साथै, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, प्रवासमा रहेका नेपालीको मताधिकार र भूतपूर्व गोर्खाहरूको अधिकारका लागि आवाज उठाउने उनले बताएका छन्।

आगामी फागुन २९, ३० र चैत १ गते काठमाडौँमा हुने १२औँ महाधिवेशन नजिकिँदै गर्दा शेरचनले आफू कम बोल्ने तर काम गरेर देखाउने नेतृत्व दिन चाहेको उल्लेख गरेका छन्। उनले आफ्नो भावी योजना र विचारमा सुझाव दिन सबै गैरआवासीय नेपालीलाई उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।