काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष तथा आगामी अधिवेशनमा अध्यक्ष पदका आकांक्षी रोविन शेरचनले आगामी एनआरएनए आईसीसीको निर्वाचन कुनै पनि हालतमा भौतिक रूपमा नै सम्पन्न हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन ।

विश्वभर छरिएका नेपालीहरूको साझा संस्था एनआरएनए एकता, पारदर्शिता र आपसी विश्वासमा आधारित रहेको उल्लेख गर्दै शेरचनले फेब्रुअरी २३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुन गइरहेको एनआरएनए आईसीसीको बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन संस्थाको भविष्य तय गर्ने अत्यन्त महत्वपूर्ण अवसर भएको बताए ।

उनले विगतमा प्रयोग गरिएको डिजिटल तथा अनलाइन मतदान प्रणाली अनुभवका आधारमा असफल भइसकेको उल्लेख गरे । “अनलाइन निर्वाचनले संघलाई एकताबद्ध गर्नुभन्दा विभाजनतर्फ धकेल्यो,” शेरचनले भने, “मतदाता पहिचान, प्रणालीको विश्वसनीयता, पारदर्शिता र नतिजाको स्वीकार्यतामाथि प्रश्न उठ्दा संघभित्र अविश्वास बढ्यो र समानान्तर संरचनासमेत देखा परे ।” त्यसैले अब फेरि त्यही अभ्यास दोहोर्याउनु एनआरएनएको संस्थागत भविष्यप्रति गैरजिम्मेवार कदम हुने उनको ठम्याइ छ।

शेरचनका अनुसार भौतिक रूपमा आयोजना हुने महाधिवेशन तथा निर्वाचनले निर्णय प्रक्रियामा पारदर्शिता ल्याउने, मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने, आर्थिक गतिविधिलाई चलायमान बनाउने र सबैभन्दा महत्वपूर्ण विश्वभर छरिएका नेपालीहरूबीच भावनात्मक एकता र आपसी विश्वास मजबुत बनाउनेछ।

“एनआरएनए केवल एउटा संस्था होइन, यो सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा भावना र पहिचान हो,” उनले भने, “यस्तो संस्थाको नेतृत्व चयन प्रक्रिया सबैले गर्वका साथ स्वीकार गर्न सक्ने हुनुपर्छ।”

उनले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई ‘एक पटक नेपाल जाऔं’ भन्ने आह्वान गर्दै यो महाधिवेशन पद र जिम्मेवारीको विषय मात्र नभई एनआरएनएको गरिमा, विश्वसनीयता र भावी दिशा पुनःस्थापित गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरे ।

शेरचनले सबै गैरआवासीय नेपालीहरूलाई सचेत भएर खुला रूपमा विचार राख्न, नियमको पालना गर्न र विगतका कमजोरी दोहोरिन नदिन साझा जिम्मेवारी वहन गर्न आग्रह गरे । “एकताबद्ध, सर्वस्वीकार्य र विश्वासयोग्य निर्णयमा पुग्नु नै यस महाधिवेशनको मूल उद्देश्य हुनुपर्छ,” उनले भने ।