काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठले एनआरएनए एकताका लागि अन्तिम प्रयास भइरहेको बताएका छन् ।
एनआरएनए डेका अवसरमा बद्री केसी समूहसँग एकताको प्रयासका लागि पटक पटक प्रयास भएपनि असफल भएको उनले बताए । तर एकताको प्रयास नजिक पुगिसकेको उनको दाबी छ ।
‘एनआरएनएका डे का दिन एकताको घोषणा गर्नका लागि अभ्यासहरु भएका थिए । तर कसरी आ–आफ्नो अस्तित्व स्वीकार गरेर अघि बढ्ने, कसरी स्वामित्व ग्रहण गर्ने र कुन मोडालिटीमा एकता गर्ने भन्ने विषयमा अझै निष्कर्ष निस्किएको छैन् । हामी एकताको अन्तिम तयारी गरिरहेका छौं,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने ।
श्रेष्ठले केही एजेन्डामा कुरा नमिलेकाले एकता घोषणा गर्न नसकेको बताए । सरकारका तर्फबाट पनि परराष्ट्र मन्त्रालयले सहजीकरण गरेर एकताको प्रयास भइरहेको उनले बताए ।
एनआरएनएको बद्री केसी समूहको निर्वाचित कार्यसमितिको कार्यकाल पनि बुधबार, २८ असोज (अक्टोबर १४, २०२५) देखि सकिएको छ । केसी पक्षले पनि सकारात्मक रुपमा एकताको प्रयास गरिरहेको छ ।
सर्वोच्च अदालतको परमादेशबाट गठित एनआरएनए उच्चस्तरीय समितिले गत मे ३–४ मा काठमाडौंमा आयोजना गरेको एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिले अहिलेसम्म सचिवालयमा प्रवेश पाएको छैन् ।








