राजनीतिक अस्थिरता र हालैको जेनजी आन्दोलनबाट उत्पन्न असामान्य परिस्थितिले गैरआवासीय नेपाली संघ (एनआरएनए) पनि आन्तरिक विभाजनकै कारण थप चुनौतीमा परेको छ । यस्तो बेलामा संघलाई पुनः एक ढिक्का बनाउनुपर्ने आवश्यकतालाई जोड दिँदै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का उपाध्यक्ष रोविन शेरचनले सबै पक्षलाई तत्काल एकतामा उभिन आह्वान गरेका छन् ।

उनले जेनजी आन्दोलनले ल्याएको परिवर्तनबाट पाठ सिकेर अव एनआरएनए पनि नयाँ चिराबाट अगाडि बढ्न आवश्यक देखिएको बताएका छन । आन्दोलनका क्रममा दर्जनौ युवाको निधन र हजारभन्दा बढी घाइते हुनु दुःखद रहेको जनाउँदै उपाध्यक्ष शेरचनले ठूलो मात्रामा सरकारी तथा नीजि सम्पत्तीको क्षतिका साथै संघको बालुवाटारस्थित सचिवालय र संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको निवासमा भएको आगजनीप्रति मर्माहत भएको जनाएका छन् ।

एनआरएनएभित्रको विवाद र झगडालाई बिर्सेर अव एक ठाउँमा आउनका लागि शेरचनले आह्वान गरेका हुन् । उनी निर्वाचित आइसीसी उपाध्यक्ष भए पनि एनआरएनए एकताका लागि पहलकदमी गर्दै आएका छन् । शेरचन भन्छन् “अब मेरो–तेरो भन्ने मानसिकता त्यागेर तथा रिस–राग र पदलिप्सा छाडेर एनआरएनएको एकता गर्नुपर्छ, संस्था पुनर्निर्माण गर्ने यही उपयुक्त समय हो ।”

हाल एनआरएनए दुई खेमामा विभाजित छ । गत मेमा भएको एकता महाधिबेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वले आफुलाई आधिकारिक दावी गर्दै आउदा यता ११ औ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिले सचिवलाय सम्हालेर आगामी अक्टोवरमा महाधिबेशन घोषणा गरेकोमा पछिल्लो समयको जेनजी आन्दोलनका कारण महाधिवेशन ६ महिना पछि सारेको छ । जेनजी आन्दोलनपछि भएको जनधनको क्षति, सचिवालयमा पुगेको क्षति र संघभित्र बढ्दो असन्तोषबीच एकता अपरिहार्य भएको सबै पक्षले स्वीकार गरेका छन् ।

केही दिन अगाडि मात्र अध्यक्ष डा. केसीले सवैपक्षिय वैठक वोलाएर एनआरएनएमा देखिएको विवाद मिलाउने प्रयास गरिरहँदा उपाध्यक्ष शेरचनले यो नै उपयुक्त समय भएको बताएका छन् ।

एनआरएनए एकताका लागि साझा व्यक्तित्व छानेर सहमतिमूलक नेतृत्व दिने, अदालतमा रहेका मुद्दा फिर्ता गर्ने र ६ महिनाभित्र सहमतिमूलक नेतृत्व हस्तान्तरणका लागि गृहकार्य थाल्नु पर्ने शेरचनको भनाई छ ।

एनआरएनएले आगामी अक्टोवरमा मनाउने एनआरएनए डेमा संयुक्त कार्यक्रम आयोजना गरेर एकताको सन्देश दिन सबै पक्षसँग शेरचनले आग्रह गरेका छन् । देश असहज अवस्थामा पुगेको वेलामा एनआरएनएहरु एक भएर अगाडि बढनुपर्ने उनको भनाई छ । उनी भन्छन्–‘अहिलेको अवस्थामा हामी एक आपसमा मिलेर देशका लागि काम गर्नुपर्छ, त्यसकारण हामी एक हुन जरुरी छ, त्यसका लागि सबै सहमत हुन आवश्यक छ ।’

एनआरएनएका पुर्व उपाध्यक्ष टिबी कार्कीले सन २००३ देखि २०१९ सम्मझै जस्तो साझा एनआरएनए बनाउने कार्यको सुरुवात गर्न आग्रह गरेका छन् । उनी भन्छन्– ‘आउदो युवा पुस्तालाई सबैको सहमतिमा नेतृत्व हस्तांन्तरण गर्ने कार्यमा लाग्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै कार्यान्वयन तर्फ लाग्न सबै पक्षलाई आग्रह गर्दछु, एकतामै बल छ, अब धेरै ढिला गर्नु हँुदैन र नगरौ पनि ।’

एनआरएनए अभियन्ता आरेके शर्माले यस्तो संकटपूर्ण अवस्थामा संघ सामाजिक उत्तरदायित्वबाट पछि हट्न नसक्ने बताएका छन् । उनले तत्कालै आपतकालीन सचिवालय गठन गरी घाइतेहरूको उपचार, अलपत्र नागरिकको उद्धार र राहतका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिदै भने ‘एनआरएनए एकतामा सबैले जोड दिन आवश्यक छ ।’

त्यसैगरी अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको एनआरएनएले पनि आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै आफ्ना सबै आगामी कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले पूर्वनिर्धारित इन्भेस्टमेन्ट समिट र साधारणसभा रोकेर पुनर्निर्माण र सहयोगमा प्राथमिकता दिने, साथै संगठनभित्र र विश्वभर रहेका एनआरएनबीच एकताको पहल गर्ने निष्कर्ष निकालेको छ ।

अर्कोतर्फ निर्वाचित कार्यसमितिले अक्टोबरमा गर्ने भनिएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरेको छ । संघले असामान्य राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाएको छ ।

मुलुक अस्थिर बनेको भन्दै संघले महाधिवेशन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो । संघले नयाँ मितिमा हुने महाधिवेशनलाई ‘बृहत् एकताको अन्तर्राष्ट्रिय सम्मेलन’का रूपमा आयोजना गर्ने उल्लेख गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीले जारी गरेको उक्त विज्ञप्तिमा संकटको घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र मतभेदलाई छोडेर सहकार्य र एकताको भावना सहित मातृभूमिप्रतिको उत्तरदायित्व निर्वाह गर्न आह्वान गरिएको छ ।

एनआरएनएभित्रको लामो समयदेखिको विवाद मिलाउने यो उपयुक्त समयमा सबैले होस गुमाउन हुँदैन र देशले भोगेको असमान्य परिस्थितिलाई सबै एनआरएन मिलेर साथ र सहयोग गर्नु पर्छ ।