डा. शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराएको महाधिवेशनबाट निर्वाचित एनआरएनएले युवा उद्यमशीलता र नेतृत्व समितिको अध्यक्षमा नारायण भण्डारी (समाजसेवी)लाई नियुक्त गरेको छ ।

गत साउन १८ गते बसेको बैठकले २०२५–२०२७ कार्यकालका लागि भण्डारीलाई उक्त पदमा चयन गरेको हो। समितिको अध्यक्षको हैसियतमा उनले युवाविभाग प्रमुखलाई प्रत्यक्ष प्रतिवेदन दिने व्यवस्था गरिएको छ।

एनआरएनएले जारी गरेको पत्रमा भनिएको छ, ‘भण्डारीको निरन्तर प्रतिबद्धता, असाधारण समर्पण र गैरआवासीय नेपाली अभियानमा पुर्‍याएको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यो जिम्मेवारी दिइएको हो।’

संघका अध्यक्ष महेशकुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले हस्ताक्षर गरेको पत्रमा भण्डारीको नेतृत्वले नेपाली युवामा उद्यमशीलता र नेतृत्व क्षमताको विकास गर्न ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

संघले ‘नेपालीका लागि नेपाली–समृद्ध नेपालको लागि’ भन्ने साझा दृष्टिकोणलाई अगाडि बढाउन भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको जनाएको छ।

समाजसेवीले एनआरएनए कतार लगाएत बिभिन्न संघ संस्थामा जिम्मेवारीमा रहेर सफलतापुर्वक कार्य सम्पन्न गरेका ब्यक्ति हुन् । स्वदेशमा विभिन्न क्षेत्रमा लगानी गरेर उद्यमशिलता विकास गर्दै युवालाई रोजगार प्रदान गरेका छन् । नेतृत्व क्षमता बोकेका समाजसेवीले आफुलाई बिश्वास गरेर यो जिम्मेवारी दिएकोमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठलगाएत कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै आफुले दिएको जिम्मेवारी दिन रात नभनी पूरा गर्ने बताएका छन् ।