गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा। बद्री केसीले १२औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिलाई पारदर्शी र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् । एनआरएनएले प्रमुख निर्वाचन आयुक्तसहित सदस्यहरु नियुक्त गरिसकेको छ ।

संघको सचिवलायमा आइतबार निर्वाचन समितिका सदस्य टिबी कार्कीलाई पत्र हस्तान्तरण गर्दै अध्यक्ष केसीले आगामी अक्टोबरमा काठमाडौंमा हुने महाधिवेशनलाई सफल बनाउन समितिका सदस्यहरूलाई निष्पक्ष र व्यवस्थित निर्वाचनका लागि योगदान दिन आग्रह गरे।

प्रमाणपत्र ग्रहण गर्दै एनआरएनए सल्लाकार तथा पुर्व उपाध्यक्ष कार्कीले विगतका वर्षझैं यसपटक पनि निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे।

केही दिन अगाडि मात्र प्रमुख निर्वाचन आयुक्त डा. राजेन्द्र घिमिरे र संघबीच निर्वाचन प्रक्रियाबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ। संघको १०६औं अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकको निर्णयअनुसार सन् २०२५ को अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा आयोजना हुने १२औं अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा महाधिवेशनमा निर्वाचन गराउने जिम्मेवारी डा. घिमिरेलाई दिइएको हो।

आईसीसी निर्वाचन प्रक्रियाका लागि नियुक्त प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा। राजेन्द्र घिमिरे र संघका अध्यक्ष डा. बद्री केसीबीच गत बिहीबार सम्पन्न समझदारीपत्रमा हस्ताक्षर गरी आगामी निर्वाचनलाई पारदर्शी र व्यवस्थित ढंगले अघि बढाउने सहमति गरिएको हो।

यसअघि संघको आईसीसी बैठकले डा। घिमिरेको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको थियो। समितिमा  टिबी कार्की सहित चिन्जीबी ढकाल, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन्।

त्यस्तै, निर्वाचन प्रक्रियाको अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति र न्यायिक निष्पक्षताका लागि भिम उदासको संयोजकत्वमा न्यायिक समिति पनि गठन गरिएको छ।

संघको विधानअनुसार अन्तर्राष्ट्रिय महाधिवेशन हुनुभन्दा कम्तीमा तीन महिनाअगावै यस्ता समितिहरू गठन गर्नुपर्ने प्रावधान छ। संघको १२औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा आयोजना हुँदैछ।