आवासीय नेपाली संघ (एनआरएनए) कतार ११ औं महाधिबेशन एकताको भनिएता पनि विवादरहित बन्न सकेन । सबै पक्षलाई एकै थलोमा राखेर महाधिबेशन नभएता पनि संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

एनआरएनए आइसीसीको विवादको प्रत्यक्ष मारमा परेको कतार आफैमा विवादमा फस्न पुग्यो । एनआरएनका अध्यक्ष रमेश भट्टको सभापतित्वमा शुक्रबार दोहामा ११ औं राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्यो । नेपाली दूतावासबाट सहभागीता नरहेको महाधिबेशनमा नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतको उपस्थिति रहेको थियो ।

अर्कोतर्फ एनआरएनए आइसीसीले महाधिबेशन गर्नका लागि तोकेको अर्को समुहले आगामी अगष्ट एक तारिख समानान्तर महाधिबेशनको मिति तोकेको छ । योसँगै एनआरएनए कतार औपचारिकरुपमा विभाजन हुने देखिन्छ ।

एनआरएनए कतार : एकता खोज्दै चयन भयो पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति

एनआरएनए कतारको आगामी २०२५–०२७ को लागि पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै अन्य सबै पद निर्विरोध गरिएको छ ।
एनआरएनए कतारको प्रथम उपाध्यक्ष रविन मगर, द्वितीय उपाध्यक्ष जहाँगीर आलम, महिला उपाध्यक्ष टौमाया गुरुङ र युवा उपाध्यक्ष मेहरसिंह तामाङलाई सर्वसम्मत रूपमा चयन गरिएको हो ।

महाधिवेशनले महासचिव विवेक पुलामी मगर, सचिवत्रय क्रमशः बुद्ध पाण्डे, सुजन गुरुङ, अर्जुन संगौला, कोषाध्यक्ष कवीन्द्र कँडेल, सहकोषाध्यक्ष कान्छा श्रेष्ठ (अजय), महिला संयोजक कल्पना पुन मगर, युवा संयोजक केशवराज मल्ल (केशु) लाई चयन गरिएको छ ।

सदस्यमा १९ जना रहेका छन् । जसमा रीता पोखरेल, इन्दिरा शाह, रामचन्द्र गिरी, अमृत विश्वकर्मा, गणेश अधिकारी, राजन चापागाई, तारा टमाटा (कमल), डिल्लीराम भट्टराई, मोहम्मद रफिक रायन, दर्शन सुनार, प्रकाश विक, विश्वनाथ भट्टाराई, गोरखबहादुर चन्द ठकुरी, मोहम्मद अनवारुल हक, शेष मोमताज, प्रकाश थापा, सुशीलकुमार सुब्बा, कृष्ण भण्डारी र पुष्करबहादुर साउद रहेका छन् ।

त्यस्तै रामप्रसाद गौतम लेखा समिति संयोजकमा भएका छन् । लेखा समिति सदस्यहरूमा कमल खत्री, अशोक आले मगर रहेका छन् ।

महाधिवेशनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को सदस्य पदमा धनबहादुर बलायर, शेख हनिफ खान, ध्रुवराज अधिकारी, टिकाराम डुम्रे र गोपाल डाँगीलाई सर्वसम्मत रूपमा चयन गरेको छ । महधिवेशनका लागि ५ हजार ५ जनाले पञ्जिकृत सदस्यता लिएका थिए ।

महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतले कतारमा एनसीसी विभाजन हुनुपर्ने कारण केही नरहेको बताउँदै हामी कतारमा एक छौं भन्ने उदाहरण दिन नसके पनि ढिलो चाँडो यही एनसीसीमार्फत जोडिने विश्वास व्यक्त गरे ।

एनआरएनएको एकताका लागि गठन गरिएको समिति मातहत रहेर बद्री केसी निर्वाचनमा सहभागी नहँुदा आइसीसी र एनसीसीमा समस्या सिर्जना भएको बताए । महतले नेपाली राजदूतावास नेपाल सरकारको प्रतिनिधित्व गर्ने संस्था भएको हुँदा आधिकारिक एनसीसीले गरेको महाधिवेशनमा सहभागी नभएको देख्दा दुःख मनाउ गर्दै साझा बन्न आग्रह गरे ।

अध्यक्ष भट्टले आफ्नो कार्यकालमा कतारमा रहेका संघसस्थाले दिएको साथप्रति आभार व्यक्त गर्दै केही व्यक्ति संस्थाबाट अलग भएर गएपनि छिट्टै यहि समितिमा फर्कने विश्वास व्यक्त गरे ।