गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सम्पन्न निर्वाचनमा वेस्टर्न अष्ट्रेलिया राज्य संयोजक पदमा हरिवंश सञ्जेल (सुमन) विजयी भएका छन्। शनिबार सम्पन्न मतदानमा उनले आफ्ना प्रतिस्पर्धी सुनिल श्रेष्ठलाई १०७ मतको फरकले हराउँदै जित हासिल गरेका हुन्। सञ्जेलले ११२८ मत प्राप्त गरे भने श्रेष्ठले १०२१ मत ल्याएका थिए।
विजय हाँसिल गरेपछि नवनिर्वाचित संयोजक सञ्जेलले मतदाताहरू, अभियान टिम, परिवार तथा समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्–‘यो विजय केवल मेरो मात्र होइन, बलियो र समावेशी नेपाली समुदायप्रतिको साझा विश्वासको परिणाम हो। म सबैको विश्वासको सम्मान गर्दै पारदर्शी, समर्पित र समावेशी नेतृत्वका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’
उनले स्टेरिङ कमिटी र अभियान टिमको योगदानलाई उल्लेख गर्दै भने –‘तपाईंहरूको समर्पण, ऊर्जा र टिमवर्क प्रेरणादायी रह्यो — यही टिम नै यो सफलताको वास्तविक नायक हो।’
त्यस्तै, आफ्ना प्रतिस्पर्धी सुनिल श्रेष्ठ र उनको टिमप्रति समेत सम्मान प्रकट गर्दै सञ्जेलले भविष्यमा सहकार्यको आशा व्यक्त गरे। “स्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यासको आत्मा हो, हामी सँगै अघि बढ्नुपर्ने बेला यही हो ।’ उनले भने।
सञ्जेलले एनआरएनए पश्चिम अष्ट्रेलियामा समावेशी नेतृत्व, पारदर्शिता र समुदायको हितमा केन्द्रित कार्यक्रममार्फत काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
त्यस्तै, अर्का प्रतिस्पर्धी श्रेष्ठले पनि पराजयलाई सहृदयतापूर्वक स्वीकार गर्दै समुदायको निर्णयको सम्मान गरेका छन्।
उनका अनुसार, “यसपटकको जित सुमन संजेलज्यू र अभियान टिमलाई प्राप्त भएको छ। तपाईंहरूको यस योग्य जितको लागि हार्दिक बधाई।”
टिम समावेशीका नेतृत्वकर्ता श्रेष्ठले भने, “हाम्रो टिमलाई यसपटक बहुसंख्यक समुदायको विश्वास प्राप्त भएन भन्ने कुरा स्पष्ट छ। हामी यसबाट आत्ममूल्यांकन गर्दै भविष्यमा अझ सशक्त भएर अघि बढ्नेछौं।”
श्रेष्ठले सामाजिक सञ्जालमा भनेका छन्–‘ हामी कुन टिममा थियौं भन्ने भन्दा माथि उठेर, अब समुदायको हितका लागि सँगै काम गर्ने समय आएको छ।’
एनआरएनए पश्चिम अष्ट्रेलियाको निर्वाचन प्रतिस्पर्धात्मक र सम्मानजनक वातावरणमा सम्पन्न भएको छ, जसले नेपाली समुदायको लोकतान्त्रिक अभ्यासलाई अझ बलियो बनाएको छ।
अन्य पदमा निर्वाचित पदाधिकारीहरु :









