एनआरएनए अष्ट्रेलियाको आगामी २ वर्षे (२०२५-२७) नेतृत्वका लागि सन्तोष कुँवर निर्वाचित भएका छन्। शनिबार सम्पन्न भएको निर्वाचनमा सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई हराउँदै कुँवर अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा नर्दन टेरोटेरीबाट उम्मेदवार रहेका गोर्खालीले २१२६ मत र पर्थ (पश्चिम अष्ट्रेलिया ) भैरव ढकालले ३७२७ पाउँदा कुँवरले ६८३९ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले जानकारी दिए।

लगातार दुई वर्षसम्म एक राज्यबाट अध्यक्षमा उम्मेदवारी दिन नपाउने विधान अनुसार यसपटक क्विन्सल्याण्डबाट उम्मेदवारी दिएका कुँवरले बाजी मारेका हुन्।

एनआरएनए अष्ट्रेलिया :  अध्यक्षमा ढकाल र गोर्खालीलाई हराउँदै कुँवर निर्वाचित

१६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए। एनआरएनए अष्ट्रेलियाको विधान अनुसार २ पटक लगातार ठूलो राज्य न्यूसाउथवेल्सबाट अध्यक्ष भइसकेपछि त्यस बाहेकका स्थानबाट मात्र उम्मेदवारी दिने पाउने प्रावधान अनुसार यस पटकको निर्वाचनमा क्वीन्सल्याण्ड, वेष्टर्न अष्ट्रेलिया र नर्दन टेरेटोरीबाट अध्यक्ष प्रत्यासीहरु मैदानमा थिए।

एक दशकभन्दा लामो समयसम्म एनआरएनए अष्ट्रेलियामा सक्रिय रहेका कुँवर हालको कार्यसमितिका महासचिवसमेत हुन्।

कुँवरको एनआरएनए यात्रा राज्य समन्वय परिषदको सचिव पदबाट सुरू भएको थियो। त्यसपछि उनी क्रमशः राज्य संयोजक (२०१७–१९), आइसिसी सदस्य (२०१९–२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२३) हुँदै हाल महासचिवको रूपमा क्रियाशील छन्।

विजयी भएका कुँवरले संस्थाको दिगो विकास, पारदर्शिता र संस्थागत सुदृढीकरणका लागि आफ्नो नेतृत्वले काम गर्ने बताए।

‘एनआरएनएको यो यात्राका क्रममा विभिन्न तह र तप्कामा बसेर मैले संस्थालाई प्रविधिमैत्री, आर्थिक पारदर्शिता र सरकारी समन्वययुक्त बनाउनेतर्फ निरन्तर काम गरेँ’– कुँवर भन्छन्–‘ अब अध्यक्षका रूपमा संस्थालाई नेतृत्व गर्दै दुई वर्षमा संस्थालाई सबै प्रवासी नेपालीको साझा संस्था बनाउने प्रण गर्दछु।’

विद्यार्थी भिसामा सन् २००९ मा अष्ट्रेलिया आएका उनले २०१० मा मास्टर्स गरेपछि व्यवसायमा हात हालेका थिए।

अष्ट्रेलियाको ‘माइग्रेसन ल एन्ड प्राक्टिस’मा स्नातक गरेका उनले सन् २०१८ देखि ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्।

यस्तै शनिबार सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा अहिलेका प्रवक्तासमेत रहेका बबिन मिश्र विजयी भए। उनले ७२६१ मत पाउँदा अर्का उम्मेदवार रमेश पौडेलले ४६१९ मत पाए।

यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए उनले ७०३० मत पाउँदा अर्का उम्मेदवार सिड्नीका भरतमणि देवकोटाले ३२५३ र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले १८१४ मत पाए।

कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए। उनले ७०८७ मत पाउँदा लुना सिवाकोटीले ४७५६ मत पाए।

यस्तै सचिव पदमा कल्याण खड्काले ७१८० मतसहित विजयी भए। निर्वाचन आयोगका अनुसार क्वीन्सल्याण्ड राज्य संयोजक पदमा अतुल खड्कासहितको सबै टिम र तास्मानियाको संयोजक पदमा सुजन वाग्लेसहित सबै टिम निर्विरोध निर्वाचित भए।

यस्तै नारी निकुञ्जअष्ट्रेलिया को उपसंयोजकमा प्रतिभा शाह पनि निर्विरोध निर्वाचित भइन्। एनआरएन अष्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिज्नो अधिकारी विजयी भइन्। युवा संयोजक पदमा पुकार घिमिरे निर्विरोध भए।

विजयी भएका राज्य संयोजकहरू
🔹 न्यू साउथ वेल्स : उषाकिरण वारिया
🔹 क्विन्सल्याण्ड : अतुल खड्का (निर्विरोध)
🔹 टास्मानिया: सुजन वाग्ले (निर्विरोध)
🔹 दक्षिण अष्ट्रेलिया : थिरबहादुर गुरूङ
🔹 नर्दन टेरिटोरी:  त्रिलोचन सापकोटा
🔹 भिक्टोरिया : महादेव धानुक
🔹 अष्ट्रेलियन क्यापिटल टेरिटोरी :  ललित मल्ल
🔹 वेस्टर्न अष्ट्रेलिया : हरिबंश सञ्जेल