गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुँदा अध्यक्ष पदका अर्का उम्मेदवार खरेलले ९ सय ७७ र खत्रीले ४ सय ९६ मत प्राप्त गरेका छन् ।

एनआरएनए बेलायत : अध्यक्षमा खरेल र खत्रीलाई हराउँदै पुडासैनी निर्वाचित

त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन् । सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्ष पदमा राममाया विष्ट थापा विजयी भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिएका छन् । उनले भने–‘ तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुवात गरेका छौं, हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ ।’ सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको पुडासैनीले जनाएका छन् ।