गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) जापानको अध्यक्षमा सुभास लामिछानेले उम्मेदवारी दिएका छन ।

वर्तमान कार्यसमितिमा एनआरएनए एनसीसी जापानको उपाध्यक्ष तथा प्रवक्ताको जिम्मेवारीमा रहेका लामिछानेले सन् २०२५–२७ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका हुन ।

यसअघि एनआरएनए अभियानमा रहदा जापानमा रहेको नेपाली समुदायबाट धेरै साथ सहयोग पाएकोमा आगामी दिनमा पनि यस्तै साथ सहयोग पाउने अपेक्षा लिएको लामिछानेले बताए ।

‘तपाईहरु सबैको माया, स्नेह र मतको अपेक्षा गरेको छु । तपाईहरुको मत खेर जान दिने छैन र आगामी दिनमा पनि थप सहकार्य र समन्वय गरेर अघि बढने प्रण गर्दछु’ उनी भन्छन ‘मलाई विश्वास छ, तपाईको साथले अबको यात्रा पक्कै सम्भव छ । हामी संगै थियौं, छौं र रहिरहनेछौं !’

जापानमा विभिन्न पेशा–व्यवसायमा रहेका तथा अध्ययनका लागि आएका नेपालीहरुको समस्या समाधान र हकहितका लागि प्रतिवद्ध भएर लाग्ने बताउदै लामिछानेले भनेका छन ‘एनआरएनए जापानको गरिमा थप उच्च बनाउने, संस्थामा युवाहरुको सहभागिता बढाउने, पारदर्शिता र जवाफदेही नेतृत्व कायम गर्ने, भाषा, संस्कृति र पहिचान संरक्षणमा क्रियाशील रहने तथा आपतकालीन अवस्थामा सहयोगी सेवा प्रवाह गर्ने कामलाई उच्च प्राथमिकता दिनेछु ।

जापानमा रहेका नेपाली समुदायको सुख दुःख नजिकबाट बुझेको बताउदै उनले आफु समस्या समाधान तथा सहयोगका लागि सधै एक कदम अघि बढने प्रतिवद्धता जनाए ।

सन् २००७ मा अध्ययनको शिलशिलामा जापान प्रवेश गरेका लामिछाने अहिले युवा व्यवसायीकारुपमा जापानको नेपाली समूदायमा परिचित छन । साथै विगत डेढ दशकदेखि जापानमा नेपााली चलचित्र प्रर्दशन गरेर नेपाली कला, संस्कृतिको प्रवद्र्धनमा समेत उनले उल्लेख्य भूमिका खेलेका छन ।