एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि वेस्टर्न अष्ट्रेलियाका वर्तमान युवा संयोजक मनिष सिग्देल राष्ट्रिय युवा उप–संयोजकमा निर्विरोध निर्वाचित भएका छन् ।
उक्त पदका लागि एकमात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचत भएका हुन् । यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी रहेको छ ।
सुनसरी जिल्लाका सिग्देल सन् २०१८ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया पुगेका थिए । वेस्टर्न अष्ट्रेलियाको पर्थमा बसोवास गरिरहेका सिग्द्ल विगत पाँच वर्षदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
समुदायप्रतिको समर्पण, नेतृत्व क्षमता र सामाजिक सेवामा उनको सक्रियताले युवाहरूलाई प्रेरणा दिँदै आएको छ। सामाजिक सञ्जालमार्फत मनिष सिग्देललाई शुभकामना र बधाई दिनेहरुको ओइरो लागिरहेको छ ।
एनआरएनए अष्ट्रेलियामा नयाँ नेतृत्व चयनको प्रक्रियामा सिग्देलको निर्विरोध निर्वाचनलाई युवाको सहभागिता र नेतृत्व विकासका हिसाबले सकारात्मक संकेतका रूपमा लिइएको छ।
सिग्देलको निर्विरोध उम्मेदवारीलाई अष्ट्रेलियाभरिका युवाहरूको समर्थन र विश्वासको रूपमा हेरिएको छ। नेतृत्वमा निरन्तरता, संगठनप्रतिको निष्ठा र युवालाई एकजुट बनाउने प्रतिबद्धताका कारण उनलाई यो पदको जिम्मेवारी प्राप्त भएको धेरैको धारणा छ।
अब राष्ट्रिय युवा उप–संयोजकको हैसियतले सिग्देलले समग्र अष्ट्रेलियास्थित एनआरएनए युवा समुदायलाई समेट्ने गरी रणनीतिक कार्यक्रमहरू अघि बढाउने र नयाँ पुस्तालाई संघमा अझ नजिक ल्याउने प्रतिवद्धता जनाएका छन् ।
जुलाई २६ शनिवार (भोलि) हुने निर्वाचनका लागि अध्यक्ष पदमा सन्तोष कुँवर, सञ्जीव ढकाल गोर्खाली र भैरव प्रसाद ढकालले उम्मेदवारी दिएका हुन्।








