एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पदका उम्मेदवार भैरवप्रसाद ढकाल देशव्यापी साता लामो दौडाहापछि आफ्नै कर्मथलो पर्थ फर्किएका छन्।
“टिम एकता” को नेतृत्व गरिरहेका ढकाल सिड्नी, एडिलेड, ब्रिसबेन, क्यानबेरा र मेलबर्न हुँदै नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गरी, उर्जा, उत्साह र अपार समर्थन बटुल्दै आफ्नो क्षेत्र पर्थ अवतरण गरेका हुन्।
ढकालले सामाजिक सञ्जालमार्फत पर्थ ओर्लने वित्तिकै भने, “अष्ट्रेलियाभरका एनआरएनए सदस्य र नेपाली समुदायका अगुवाहरूसँग भेट्दा मैले हाम्रो भविष्यप्रतिको प्रतिबद्धता अझ बलियो बनाएको छु।”

अध्यक्ष पदको उम्मेदवारका रूपमा उनले एकताको सन्देश दिँदै सबै राज्यहरूलाई समेट्ने, प्रगतिशील र सशक्त एनआरएनए बनाउने दृष्टिकोण प्रस्तुत गरेका छन्। उनले थपे, “हामी सबैको आवाज र आवश्यकता बुझ्दै, मैले नजिकबाट सबैको भावना अनुभूति गरेको छु।”
उनले एनआरएनए अष्ट्रेलियाका सम्पूर्ण सदस्यहरूलाई मतदानमार्फत आफ्नो मत जाहेर गर्न आह्वान गर्दै भने, “तपाईंको भोट तपाईंको आवाज हो। हामी सबै मिलेर अझ मजबुत, संगठित र एकीकृत समुदाय निर्माण गर्न सक्छौं।”
अध्यक्ष पदमा भैरवप्रसाद ढकालसहित सन्तोष कुँवर र सञ्जिव गोर्खाली ढकालले उम्मेदवारी दर्ता गराएका छन् । अहिले तीनै जना चुनावी मैदानमा उत्रिएर देश दौडाहमा निस्केर आआफ्नो पक्षमा मत मागिरहेका छन् ।








