गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी)को विवाद चरमोत्कर्षमा पुगिरहदा र केही एनसीसीमा समानान्तर कमिटि बनिरहदा एनआरएनए एनसीसी मलेसियाले सहमतिको अधिवेशन घोषणा गरेर आइसीसीलाई उदाहरण प्रस्तुत गरेको छ ।
शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत भेला’मा ३०–३१ अगष्ट, २०२५ मा एकता अधिवेशन गर्न सहमति जुटेको हो ।
मलेसियामा रहेका विभिन्न संघ–संस्था, गैरआवासिय नेपाली संघ मलेसियाका संरक्षक, पूर्वअध्यक्ष तथा पदाधिकारीहरुको सहमतिमा मिति तय गरिएको हो ।
एनआरएनए मलेसियामा यो सहमति बनाउनका लागि मलेसियाका पुर्व अध्यक्ष तथा एनआरएनए उपााध्यक्ष खगेन्द्र न्यौपानेले महत्वपुर्ण भूमिका खेलेका थिए ।
न्यौपानेले उक्त सहमतीपछि एनआरएनए मलेसियामा देखिएको विवाद अन्त्य भएको बताए । न्यौपानेले भने “एनआरएनए मलेसियाले विश्वभरका एनआरएनएलाई सकारात्मक सन्देश दिएको छ, केन्द्रमा जेसुकै विवाद रहे पनि एनसिसि कुनै गुटको होइन, बरु आइसीसीले पनि मलेसियाबाट सिकेर यसरी नै एकताको अधिवेशन गरोस् ।”
सहमतिको माहोल बनाउनका लागि न्यौपानेले आफु कुनै पक्षको नभएर मात्र एनआरएनए मलेसियाको पुर्व अध्यक्षको नाताले लागि परेको बताउँदै सहमतिको प्रस्ताव राखेका थिए ।
सहमती अनुसार नयाँ सदस्यता तथा नविकरणका लागि २१ जुलाईदेखि लागू हुने गरी दुई हप्तासम्म रहने र सदस्यता शुल्क २० रिङ्गेट प्रतिव्यक्ति तोकिएको छ । आइसीसीको दुवै पक्षको आइएमएसमार्फत सदस्यता नविकरण गर्न सकिने पनि सहमति भएको छ ।
एनआरएन मलेसियाका अध्यक्ष राकेश (आरके) महतोले पनि बृहत भेलाको निर्णयप्रति सहमति जनाउँदै विगतका कटु अनुभवहरू बिर्सेर संस्थालाई अघि बढाउनुपर्ने धारणा राखे । “समाजभन्दा बाहिर कोही जान सक्दैन, हामी सबै सहमतिमा आएका हौ’ उनले भने ।
एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष विनोद थापाले समस्याको समाधान संवादमार्फत खोज्नुपर्ने आवश्यकता औंल्याए । “एनआरएनएमा एक अर्कामाथि दोषारोपण गर्नुको सट्टा समाधानतर्फ अघि बढ्नु पथ्र्यो अहिले त्यो एनसीसी मलेसियाले चरितार्थ गरेकोमा खुशी लाागेको छ ।”
एनआरएनए मलेसियाका संरक्षक शंकरबहादुर पौडेलले नेपाली समाजमा आपसी सहयोग, भातृत्व र एकता संस्कृति रहेको भन्दै एनआरएनमा पनि त्यही भावना झल्किनुपर्ने बताए ।
कार्यक्रमका सहभागीहरूले साझा मञ्चमार्फत एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकता लिएर अघि बढ्न आह्वान गरेका थिए ।
सहमतिअनुसार अध्यक्ष राकेश महतोको संयोजकत्वमा अधिवेशन समिति गठन गरेर भब्यताका साथ अधिवेशन सम्पन्न गराउन जिम्मा दिईएको छ । उक्त सहमतिपत्रमा मलेसियामा रहेका सबै संस्थाले हस्ताक्षर गरेका छन । यो सहमतिसँगै मलेसियामा एनआरएनए एनसीसी मलेसियाले अन्य एनसीसी र आइसीसीलाई पनि एकताका लागि घच्घचाएको छ ।








