गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आसन्न दशौं अधिवेशनमा अनु राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । राईमा एनआरएनए अभियानमा सक्रिय र निरन्तर पदमा रहेर काम गरेको अनुभव छ ।
विगत लामो समयदेखि संघमा सक्रिय रहँदै आएकी राईले महिला संयोजकदेखि उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेको अनुभवका आधारमा नेतृत्वका लागि आउन चाहेको जनाएकी छिन् ।
राईले १७–१९ र १९–२१ कार्यकालमा महिला संयोजकका रूपमा एनआरएनए हङकङमा सफलतापुर्वक काम गरिसकेकी छिन् । त्यसैगरी २१–२३ तथा २३–२५ कार्यकालमा एनआरएनए हङकङको उपाध्यक्षका रूपमा योगदान दिएकी राईले सहमतिको प्रयास अन्तिमसम्म गरे पनि सम्भव नभएको भन्दै अब निर्वाचनमार्फत प्रतिस्पर्धामा जाने बताइन् ।
‘सहमतिको प्रयास भए पनि अन्ततः चुनावमा जानु पर्ने भयो’ उम्मेदवारी घोषणा गर्दै राईले भनिन्, “ अग्रजहरुको साथ, समर्थन र हौसलाले नेतृत्वका लागि आएकी छु, म र मेरो टिमलाई अमूल्य मतद्वारा विजयी बनाउन हार्दिक अनुरोध गर्दछु ।’
राई एनआरएनए अभियानमा सक्रिय भएर लामो समयदेखि लागेर देशविदेशमा पुगिरहेकी छिन् । उनको काँधमा एनआरएनए हङकङ सुम्पन्न पाउँदा हङकङवासी नेपाली खुशी हुने जनाइएको छ ।
यसैबीच, अध्यक्ष पदकै लागि जयन्ती गुरुङले अन्तिम अवस्थामा उम्मेदवारी घोषणा गरेकी छन् । उम्मेदवार दुवै पक्षबीच सहमतिको प्रयास असफल भएपछि अब निर्वाचन हुने निश्चित भएको हो । उनी संस्थामा खासै सक्रिय भएर लागेकी छैनन् ।
एनआरएनए हङकङको उपाध्यक्ष पदका लागि सन्तोष कुमार गुरुङ, कविता गुरुङ र विनय शाहले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए हङकङमा गुरुङद्वय निकै सक्रिय र निरन्तर योगदान दिइरहेका उम्मेदवार हुन् । दुई उपाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेपछि उपाध्यक्ष पदका लागि निर्वाचन नै हुने भएको छ ।
उपाध्यक्षकी उम्मेदवार कविता एनआरएनएमा अनुभवी र सक्रिय छिन् । उनी एनसीसी हङकङमा १७–१९ कार्यकालमा सदस्य, २१–२३ र २३–२५ कार्यकालमा महिला संयोजकका रूपमा सक्रिय रहेकी गुरुङले संघमा लामो समयदेखि आबद्ध रहँदै अनुभव बटुल्दै आएको बताएकी छन् ।
कविता भन्छिन् –‘म एनआरएनए हङकङको दशौं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बनेकी छु, तपाईहरू सम्पूर्ण प्रतिनिधि सदस्यहरूबाट साथ, समर्थन र हौसलाको अपेक्षा गरेकी छु ।’
अर्का उपाध्यक्षका उम्मेदवार सन्तोषसँग २०१७–१९ कार्यसमिति सदस्य, २०१९–२१ कोषाध्यक्ष र २०२३–२५ उपाध्यक्ष भएर काम गरेको अनुभवका साथ निरन्तर योगदान दिइरहेका छन् । उनलाई एनआरएनए अभियानमा ल्याउन हङकङवासी नेपालीहरु आतुर छन् ।
गुरुङद्वयले संघभित्र निरन्तर क्रियाशील भई आएको अनुभव र समर्पणका साथ आगामी कार्यकालमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरका छन् ।

एनआरएनए हङकङका अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा इन्दर पुर्जा पुन, सचिवमा विश्वनाथ घिसिङ्ग, कोषाध्यक्ष अर्जुन गौचन निर्विरोध निर्वाचित भइसकेका छन् ।
महाधिबेशनको मिति २२ जुलाईलाई सर्यो
एनआरएनए हङकङको आइतबारका लागि तय गरिएको आफ्नो १०औं महाधिवेशन मौसम विभाग हङकङले जारी गरेको मौसम पूर्वानुमान र सार्वजनिक सुरक्षाका कारण महाधिवेशनको मिति, समय र स्थान परिवर्तन गरिएको संघले जनाएको छ ।
अब महाधिवेशन २२ जुलाई, २०२५ मा जोर्डनस्थित याक एन्ड यति रेष्टुरेन्टमा दिउँसो ३ बजे सुरु हुने कार्यक्रम तय भएको अध्यक्ष गोकर्ण ढकालले जानकारी दिएका छन् । संघले सबै सदस्य तथा सरोकारवालाहरुलाई नयाँ मिति र स्थान अनुसार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।








