गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा सञ्जीव गोर्खाली ढकालले औपचारिक उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएपछि उनको चर्चा चुलिएको छ ।

एनआरएनए नर्दन टेरिटोरीका संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष रहेका सञ्जीव अव एनआरएनए अष्ट्रेलियाको नेतृत्वका लागि होमिएका छन् ।

अष्ट्रेलियामा सामाजिक सेवा र नेतृत्वमा उदाएका सञ्जीवले एनसीसी अध्यक्षमा उम्मेदवारी दिएसँगै नेतृत्वका लागि तीन जनाबीच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्ष पदमा सञ्जीवसहित सन्तोष कुँवर र भैरवप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । अहिले तीनै जना चुनावी मैदानमा उत्रिएर देश दौडाहमा निस्केका छन् ।

नेपालको गोरखा जिल्लाबाट चितवन हुँदै अष्ट्रेलियाको डार्विनमा पुगेका सञ्जीव नेपाली समुदायमा परिचित नाम मात्र होइन, एक स्थापित नेतृत्वकर्ता पनि बन्न सफल भएका छन् । बाल्यकालदेखि नै समाजसेवामा रुचि राख्ने सञ्जीवले अष्ट्रेलिया पुगेपछि पनि सामाजिक सक्रियतालाई निरन्तरता दिँदै आएका छन् । यही कारणले गर्दा उनी आज एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका लागि बलियो उम्मेदवारको रूपमा उभिएका छन् ।

सन् २०२१–२०२३ कार्यकालमा एनआरएनए नर्दन टेरिटोरीका उप–संयोजकको रूपमा उल्लेखनीय काम गरेका सञ्जीवले सन् २०२३–२०२५ कार्यकालमा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष र सोही कार्यकालमा राज्य संयोजकको भूमिकामा सक्रिय योगदान दिएर सबैको मन जितेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दै सञ्जीवले भने —‘यो नेतृत्वको कुरा मात्रै होइन, कामको कुरा पनि हो, म इमान्दारीपूर्वक संस्थालाई माथी उठाउने उद्देश्यका साथ सेवा गर्न अघि बढेको हुँ ।’

उनले आफ्ना प्रतिवद्धतामा एनआरएनए फाउन्डेसनलाई स्वतन्त्र च्यारिटी संस्थाका रूपमा स्थिर र संस्थागत बनाउन, नेपाली विद्यार्थीहरूका लागि ‘एसोसिएट सदस्यता’ पुनः सञ्चालन गर्दै नेपालसँग सम्बन्धित सबैलाई समेट्न, विद्यार्थी परिषद् गठन गरी राष्ट्रिय तहमा निर्वाचनमार्फत नेतृत्व चयन गर्न, युवा, महिला तथा क्षेत्रीय प्रतिनिधित्व सशक्त बनाउन, सरकारी निकायहरूसँग सहकार्य गर्दै समुदायको प्रभावकारिता बढाउन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै राजनीतिभन्दा माथि उठाउने जनाएका छन् ।

उनी भन्छन्– ‘हामी वाचा मात्रै गर्दैनौं, काम गरेर देखाउँछौं ।’ एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २६ तारिखमा अनलाइन मार्र्फत हुँदैछ ।