गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा खगराज गौतम (विश्वास)ले उम्मेदवारी दिएका छन्।

वर्तमान कार्यसमितिमा प्रवक्ताको जिम्मेवारीमा रहेका गौतमले संस्थामा पारदर्शिता र जबाफदेही नेतृत्वको विकास तथा संस्थालाई संस्थागत रूपमा संचालन गराउने उद्देश्यले सन् २०२५-२०२७ को लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेदवारी दिएको बताए ।

‘महासचिवमा निर्वाचित भएको खण्डमा आगामी कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि बढाइ सामान्य भन्दा सामान्य व्यक्तिले पनि एनआरएनए मेरो दुःख–सुखको साथी हो भन्ने धारणा विकास गराउने छु’ गौतमले भने ।

उनले आगामी २७ जुलाईमा हुन लागेको एनआरएनए जापानको १२ औँ महाधिवेशनबाट नयाँ कार्यसमितिको महासचिव पदमा विजयी बनाउन जापानवासी सबै पञ्जीकृत सदस्यहरूलाई आग्रह गरेका छन ।

‘विगत २५ वर्षदेखि सञ्चार कर्म, १२ वर्ष गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव र एनआरएनए जापानमा विगत ३ कार्यकाल बाहिर रही सहयोगीको भूमिका र हाल प्रवक्ताको रूपमा संस्थाको संस्थागत विकासमा पुर्‍याएको योगदान, अनुभव र सिकाइलाई एकमुष्ट एनआरएनए जापानको सुदृढीकरणमा योगदान प्रदान गर्न मैले महासचिव पदमा उम्मेदवारी दिएको हुँ’ गौतमले भने।

जनहित न्युजका सम्पादक समेत रहेका गौतम गलकोट समाज जापानका लेखा अनुगमन तथा अनुशासन समितिका संयोजक पनि हुन्।