गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि भैरव ढकालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अभियानमा लामो समयदेखि लागेका अनुभवी र नेतृत्व क्षमता बोकेका ढकाल एनसीसी अष्ट्रेलियाको नेतृत्वमा आउन लागेपछि अष्ट्रेलियामा रहेका नेपालीले खुशी व्यक्त गरेका छन् ।
समाजसेवा र व्यवसायमा सक्रिय रहेका ढकाल एनआरएनएलाई एकपटक फेरि विश्वास, पारदर्शिता र नवीनताको आधारमा सुदृढ संस्था बनाउने संकल्पसहित चुनावी मैदानमा होमिएका छन् ।
एनआरएनए अष्ट्रेलियामा विश्वास र एकता पुनःस्थापना, व्यावसायिक मूल्य र बडापत्रको पालना, युवा, महिला तथा कम प्रतिनिधित्व भएका समूहहरूको सहभागिता वृद्धि, नेपाल सरकारसँग डायस्पोरा–मैत्री नीतिको वकालत, र एनआरएनए अष्ट्रेलियालाई विश्वभर एक मोडेल संस्था बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै ढकाल चुनावी मैदानमा उत्रिएका छन् ।
‘जुलाई २६ को निर्वाचन केवल नेतृत्व परिवर्तनको अवसर होइन, यो एनआरएनए अष्ट्रेलियाको भविष्य निर्माण गर्ने ऐतिहासिक क्षण हो’ ढकालले सबै मतदाताहरूलाई आफूप्रति विश्वास र समर्थन जनाउन आह्वान गरेका छन् ।
ढकाल हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का सल्लाहकार हुन् भने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा सल्लाहकारको रूपमा समेत योगदान दिइसकेका छन् ।
अष्ट्रेलियामा नेपाल चिनाइरहेका ढकाल सफल रेष्टुरेन्ट व्यवसायी हुन् । अष्ट्रेलियाको पर्थका पुराना नेपालीका रुपमा चिनिएका ढकाल अष्ट्रेलियाभर परिचित छन् ।
एनआरएनए आइसीसीमा समेत राम्रो पकड भएका ढकालको नेपाल सरकारसँग पनि नजिकको सम्बन्ध रहेको छ । उनी सबै माझ मिल्न र रुज्न सक्ने भएकाले उनको नेतृत्वलाई सबैले सर्बसम्मत बनाउन प्रयासरत रहेका छन् ।
ढकालको अनुभव, दृष्टिकोण र समावेशी नेतृत्व क्षमताले संघमा नयाँ उर्जा र आशा भर्ने अपेक्षा गरिएको छ । ढकालले केही दिनमा नै आफ्ना प्रतिवद्धता र आफ्नो टिमसहित औपचारिक उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।








