गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य समन्वय परिषद्को आगामी कार्यकालका लागि रोशन भट्टराईले राज्य संयोजक पदमा आफ्नो प्यानलमा उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेसँगै चुनावी महोल ह्वात्तै बढेको छ ।

‘टीम रोशन एनएसडब्लु’ भनेर आफ्नो नेतृत्वमा भट्टराईले अनुभव, योग्यता र युवाको जोश मिसिएको सक्षम टोली सार्वजनिक गरेका छन् ।
‘समुदायका अग्रजहरूप्रति सम्मान प्रकट गर्दै, अनुभव, युवाको जोश र काम गर्ने सक्षम टोली लिएर हामी अगाडि बढेका छौं’ भट्टराईको भनाइ छ । उनी भन्छन्–‘हाम्रो टिम सच्चा, समर्पित र पारदर्शी समाज सेवामा दृढ छ ।’

एनआरएनए अष्ट्रेलिया एनएसडब्लुको राज्य संयोजकमा भट्टराईको उम्मेदवारीसँगै तात्यो माहोल

एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २६ तारिख शनिबार हुँदैछ । हिजोका अनुभव र आजका सक्रियतासँगै सबैको सहभागितामा एक मजबुत डायस्पोरा निर्माण गर्ने लक्ष्य साथ नेतृत्वका लागि मैदानमा उत्रिएको भट्टराईको भनाई छ ।

भट्टराईको नेतृत्वमा अगाडि बढ्ने टोलीले सक्षम नेतृत्व, पारदर्शिता, इमान्दारिता, सहकार्य र एकतालाई मुख्य पाँच मूल मन्त्रका रूपमा अघि सारेको छ ।

‘यो पटक हाम्रो अभियान केवल कागज र नारामा सीमित रहने छैन’, भट्टराईले भने–‘हामी व्यवहारमै देखिने, अनुभूति हुने र नतिजामूलक कार्ययोजनासहित केही दिनमै प्रस्तुत हुने छौं ।’

नेपाली समुदायसेवामा समर्पित र सफल पेशागत जीवन बिताउँदै आएका भट्टराई अष्ट्रेलियामा शैक्षिक परामर्श तथा ईभेन्ट म्यानेजमेन्ट क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी एक सफल, जुझारू, उत्साही र जाँगरिला प्रबासी नेपालीको रूपमा अष्ट्रेलियाको नेपाली समुदायमा चिनिएका छन् ।

भट्टराईले अष्ट्रेलियामा नेपाली फिल्म क्षेत्रको प्रवद्र्धन गर्दै नेपाली संस्कृति र मनोरञ्जनलाई प्रवासी नेपाली माझ फैलाउने काममा अग्रसर भूमिका खेलेका छन् । ‘नेपाली फिल्मलाई अष्ट्रेलियामा विस्तार गर्नु मेरो अभियानमध्येकै एक हो’, भट्टराई भन्छन्–‘ सांस्कृतिक जरा बलियो बनाउन काम गरियो अव समग्र नेपाली समुदायको विकासका लागि काम गर्नुछ ।’

अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने सबै सदस्यहरुलाई एनआरएनए अभियानमा साथ र समर्थन जनाउँदै आफ्नो टीमलाई जिताउनका लागि भट्टराईले अनुरोध गरेका छन् ।