प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रहेको डा. बद्री केसी समुहलाई साथ दिएका छन् । परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ समुहलाई मान्यता दिइरहेको अवस्थामा प्रधानमन्त्रीले डा. केसी समुहलाई साथ दिएपछि एनआरएनए अभियानले रोचक मोड लिएको छ ।

प्रधानमन्त्री ओलीले आगामी बुधबार आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने जनाइएको छ । “एनआरएनको अधिकार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ हुने कन्क्लेभको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने निश्चय भएको जनाइएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको थियो । भेटका क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघलाई सबै नेपालीको साझा, गैरराजनीतिक संस्था बनाउनुपर्नेमा जोड दिए ।

डा. केसी कार्यसमितिलाई प्रधानमन्त्रीको साथ, ‘एनआरएनए कन्क्लेभ’ हुँदै

संघका अध्यक्ष डा. केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवद्र्धन लगायत विषयहरूमा केन्द्रित कार्यक्रम आयोजना गरिने जानकारी दिएका थिए ।

काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने कार्यक्रममा तीन सयभन्दा बढिको सहभागिता रहने एनआरएनए सचिव टिका गुरुङले जानकारी दिइन् । अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरिएको जनाइएको छ ।

भेटमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, एनआरएनए उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना राई प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव राधिका टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह–कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, पत्रकार चिरन शर्मा, र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत लगायतको उपस्थिति थियो ।