गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आयोजना गरेको ‘एनआरएनए ग्लोवल युथ कनक्लिभ’ एडिलेडमा गैरआवासीय नेपाली नागरिकताको अधिकारका विषयमा सवाल जवाफ भएको छ ।

नेपाल सरकारले विदेशमा बस्ने नेपालीलाई दिन थालेको एनआरएन नागरिकताले सम्पूर्ण अधिकार नदिएको हुँदा यसलाई तत्काल परिमार्जन गरेर सम्पुर्ण अधिकार दिनु पर्ने आवाज उठेको छ ।

अष्ट्रेलियाको एडिलेडमा शनिवार सम्पन्न युवा सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली युवा, चुनौति, अवसर र उपलब्धीका विषयमा छलफल भएको थियो ।

एनआरएनए युवा सम्मेलन एडिलेड : एनआरएन नागरिकताकै सवाल–जवाफ

प्रतिनिधीसभा सदस्य योगेश भट्टराई प्रमुख अतिथि रहेको सम्मेलनमा एनआरएनए आइसीसीका अध्यक्ष अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. विनोद श्रेष्ठ, उपाध्यक्ष रोजिना प्रधान राई, सचिव डा. ज्ञानेन्द्र रेग्मी, सचिव टिका गुरुङ, आरसी दिनेश पोखरेल, एनसीसीका अध्यक्ष अनिल पोखरेललगायत एनआरएनए पदाधिकारी, विज्ञ तथा युवा उद्यमीहरुको उपस्थिति रहेको थियो ।

सांसद भट्टराईले विदेशमा बस्ने नेपालीबाट देशले धेरै अपेक्षा गरेका हुँदा एनआरएनएका मागलाई नेपाल सरकारले प्राथमिकतामा राखेर पुरा गरिरहेको बताए । उनले भने–‘धेरै छलफलपछि सरकारले एनआरएन नागरिकता जारी गरेको छ, यसका अधिकार अझै पुगेका छैनन, अव चाँडै तपाईहरुका थप माग पुरा हुने छन् ।’

एनआरएनए युवा सम्मेलन एडिलेड : एनआरएन नागरिकताकै सवाल–जवाफ

सांसद भट्टराईले नेपालमा संभावनाहरु धेरै रहेकाले विदेशमा सिकेको सीप र ज्ञानलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । एक सहभागीले नेपालमा रहेको सम्पत्ती बेचेर ल्याउन पाउनु पर्ने प्रश्नमा सांसद भट्टराई जवाफ फर्काउदै भने–‘सकभर नेपालको सम्पत्ती उतै छोड्नुहोस्, यहाँ कमाएर नेपाल चै लगेर लगानी गर्नुहोस् न ।’

एनआरएनए अध्यक्ष केसीले एनआरएनएका अझै धेरै मुद्धा पुरा हुन नसकेकोे जनाउँदै एनआरएन नागरिकताको अधिकारका लागि पहलकदमी गरिरहेको जानकारी दिए । एनआरएन नागरिकताका लागि सबै अधिकार प्रदान गर्नका लागि अझै १२ वटा कानून परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेशबाट एनआरएन नागरिकले पाउने अधिकार प्रत्याभुत हुने आश्वासन प्रधानमन्त्रीबाट पाएको अध्यक्ष केसीले जनाए ।

एनआरएनए युवा सम्मेलन एडिलेड : एनआरएन नागरिकताकै सवाल–जवाफ

अध्यक्ष केसीले नेपालमा एनआरएनहरुबाट एक खर्बभन्दा बढि लगानी भइसकेको हुँदा विदेशमा सिकेको सीप र पुँजीलाई नेपालमा लगाउनका लागि आग्रह समेत गरेका छन् ।

अध्यक्ष केसीले विद्यार्थी भिसामा आफु पनि रसिया गएको स्मरण गर्दै पहिलो पुस्ताका युवाले धेरै संघर्ष गर्नु परेको भएता पनि सफलता प्राप्त गरिरहेको बताए ।

एनआरएनए पुर्व उपाध्यक्ष मन केसीले नेपालमा लगानी गइरहेको भएता पनि केही कानूनी अल्झनले दुःख दिइरहेको बताए । उनले एनआरएनए अभियानबाट धेरै गर्न सकिने भएकाले युवाहरुलाई आफ्नो मेहनेत र इमान्दारितालाई कायम राख्नका लागि आग्रह गरे ।

एनआरएनए युवा सम्मेलन एडिलेड : एनआरएन नागरिकताकै सवाल–जवाफ

पत्रकार अमित ढकालले संचालन गरेको सेसनमा लगानी तथा एनआरएन नागरिकताको विषयमा वहस भएको थियो ।

युवाको सेसनमा पत्रकार सरल गुरुङ, कलाकार निहारिका ज्ञवाली, उद्यमी फैजा पारवीन, विजय सापकोटा, उत्सव थपलियाले अष्ट्रेलियामा रहेका नेपाली युवाको अवस्था, आफ्नो संघर्ष, अवसर र चुनौतीका विषयमा छलफल गरेका थिए ।

सम्मेलनपछि भएको गाला डिनरमा सहभागी अतिथिहरुले युवाहरुको शसक्तिकरण र जनचेतनाका लागि एनआरएनएले काम गर्नुपर्ने औल्याएका थिए ।