एनआरएनएको मुख्यालय लिजमा भएपनि संचालन गर्न दिन आरके शर्मा समूहको माग

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को राजेन्द्र कुमार (आरके) शर्मा समूहले संघको भवन कम्तीमा ५० वर्ष लिजमा उपभोग गर्न दिन सरकारसँग माग गरेको छ ।

४० करोड बढीको लगानीमा विश्वभर रहेका एनआरएनहरुको सहयोगमा निर्मित संघको भवन ललिता निवास प्रकरणमा अदालतले गरेको फैसलासँगै सरकारलाई फिर्ता दिनुपर्ने भएपछि शर्मा समूहले उक्त भवन लिजमा उपभोग गर्न दिन आग्रह गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमाथि फैसला गर्दै विशेष अदालतले ७५ जनाको नाममा रहेको जग्गा जफत गर्न आदेश दिएको छ । जसमा संघको भवन रहेको जग्गा पनि परेको छ । अदालतको आदेश लगत्तै काठमाडौं महानगरपालिकाले सात दिनभित्र जग्गा खाली गर्न सूचना जारी गरेपछि बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै शर्मा समूहले संघको भवन कानुनी प्रावधान अनुसार लिजमा भएपनि उपभोग गर्न दिन परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नेपाल सरकारलाई अनुरोध गरेको छ ।

एनआरएनएको केन्द्रीय कार्यालय वालुवाटार परिसरमा आयोजित पत्रकार सम्मेलनमा आरके शर्माले विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै डा.बद्री केसी समुहले संस्था र भवन कब्जा गर्ने उद्देश्यसहित गर्दै आएको पछिल्ला गतिविधिप्रति समेत आफ्नो आपत्ति रहेको बताए ।

एनआरएनएको भवन निर्माणमा विदेशमा रहेका प्रत्येक एनआरएनको रगत र पसिना मिसिएको भन्दै संघका उपाध्यक्ष गंगाधर गौतमले लिजमा भएपनि उक्त भवन संघल नै उपभोग गर्न पाउने गरी सरकार समक्ष आग्रह गरिएको बताए ।

एनआरएनए भवनमा दुईवटा ताला

यसैबीच संघको मुख्यालयमा पत्रकार सम्मेलनको लागि पुग्दा ढोकामा चावि लागेको देखेपछि आरके शर्मा समूहले अर्को चावि लगाइदिएको छ । बद्री केसी समूहले कार्यालयमा तालाबन्दी गरेर आफ्नो समूहबाहेक अरुलाई निषेध गरेको भन्दै शर्मा समूहले पत्रकार सम्मेलनमा घोर आपत्ति जनाएको थियो ।

कार्यालयमा तालाबन्दी गरेर कर्मचारी र कामकाज मनोमानी ढङ्गले चलाउन खोजिएकाले कार्यालयमा लगाएको तालामाथि आफुहरुले प्रतिवाद स्वरुप अर्को ताला लगाएको उपाध्यक्ष गौतमले पत्रकार सम्मेलनमा बताए ।

शर्मा समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा भवन कसरी जोगाउने भन्ने मात्रै नभई अन्य धेरै समस्याहरु संघमा रहेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *