एनआरएनहरुमा राहत वितरणको होडबाजी, राहत सामाग्री बोकेर छुट्टाछुट्टै समुह जाजरकोटतर्फ

बद्री केसी, आरके शर्मा र विनोद कुँवरको छुट्टाछुट्टै राहत सहयोग घोषणा
news-details

विदेशमा बस्ने नेपालीहरु नेपालमा समस्या पर्दा सहयोग तथा राहतका लागि सबैभन्दा पहिला जुटिहाल्छन् । आफ्नो गाँस काटेर भएपनि उनीहरु यस्तो बेला सहायताका लागि लागिपर्छन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद आफैमा चरमउत्कर्समा पुगिरहेको बेला पनि उनीहरु जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि सहायता तथा राहत बोकेर भूकम्प प्रभावित क्षेत्र पुगेका छन् ।

एनआरएनएको विवादलाई थाँति राखेर आ–आफ्नो समुह बनाएर भूकम्प पीडितका लागि सहयोग, राहत सामाग्री तथा चिकित्सक बोकेर उनीहरु प्रभावित क्षेत्र पुगेका हुन् ।

एनआरएनएका अध्यक्ष डा.बद्री केसीको एक समुह हिजै राहत सामाग्री पठाएर आज जाजरकोट पुगिसकेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्कासहित स्थानीय सरकारसँग समन्वय गरेर राहत सम्बन्धित परिवारसम्म पु¥याउने केसीको भनाई छ ।

भूकम्पले घरबारविहीन भएकालाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री सहयोग गर्न जाजरकोट पुगेको एनआरएनए उपमहासचिव प्रविण गुरुङले बताए । भूकम्प पीडित ४ सय परिवारलाई राहत सामग्री वितरण गरिने उनले जानकारी दिए ।

राहत वितरणका लागि संघका अध्यक्ष डा. केसी, महिला उपाध्यक्ष रोजिना प्रधान, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेतलगायतको टोली राहत सामग्री बोकेर जाजरकोट पुगेको हो ।

राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने जनाइएको छ । संघको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर प्रभावित स्थानमा जाने निर्णय अनुसार फिल्डमा उत्रिएको महासचिव गौरीराज जोशीको भनाई छ ।

उनी भन्छन् –‘पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ ।’

यता एनआरएनएको अर्को समूह आरके शर्माको नेतृत्वमा भूकम्पमा परेका पीडित परिवारलाई राहत सामाग्री बोकेर प्रभावित क्षेत्रमा पुगेको छ । ‘पहिला पीडित परिवारले सहयोग तथा राहत पाउनुपर्छ अनि मात्र अरु विषय आउँछ, त्यही भएर हामी विश्वभरका एनआरएन साथीहरुको मर्म अनुसार फिल्डमा पुग्दैछौ’ शर्मा बताउँछन् ।

शर्मा नेतृत्वको समुहले आउँदो दुइ वर्ष भित्र दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा पनि गरेको छ । उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन ।

शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्नका लागि झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भइसकेको यो समूहले जनाएको छ ।

शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गर्दै तीनै तहका सरकारसँग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघले पनि भुकम्प लगत्तै भुकम्प पीडितका लागि संसारभरका एनआरएनसँग सहायता आब्हान गरेकोमा अहिलेसम्म झण्डै ५० लाख संकलन भैसकेको जनाएको छ । यो समूहले पनि सरकार र स्थानीय निकायसँगको समन्वयमा राहत वितरण गरिने जनाएको छ ।

संघका पूर्वअध्यक्ष शेष घलेले पनि एमआइटी ग्रुप फाउण्डेशनमार्फत भुकम्प पीडितका लागि सहायता उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *