पशुपतिनाथ र स्वयम्भूमा पुजाआजा गरेर मनायो एनआरएनएले २० औं ‘एनआरएनए डे’

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्थापनाको २० औं वर्ष पुरा गरेको अवसरमा आज पशुपतिनाथ र स्वयम्भूनाथमा पुजाआजा तथा आरती गरेर मनाएको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वर्तमान अध्यक्षहरु कुल आचार्य, रबिना थापा र डा. बद्री केसीका साथै संघका पदाधिकारीहरुको विशेष उपस्थितिमा आज बिहानै पशुपतिनाथ र स्वयम्भूनाथमा गई संघले पुजाआजा गरेको हो ।

सो अवसरमा संघका संस्थापक अध्यक्ष महतोले गैरआवासीय नेपाली संघ अभियान भएकाले संस्थामा मात्र सिमित नगर्न सबैलाई आग्रह गरे । उनले भने –‘हामी पशुपतिनाथको प्रांगणमा बसेर संकल्प गरांै । हामी निस्वार्थ रुपमा देशलाई कसरी समृद्ध बनाउने, विश्वमा कसरी शान्ति फैलाउने, नेपालको महिमा विश्वभर कसरी फैलाउने भन्ने अभियानमा सबै गैरआवासीय नेपालीहरु लाग्नुपर्छ ।’

संघले संस्थामा आवद्ध १ लाख ८० हजार सदस्यको मात्र नभई विश्वभर छरिएर रहेका ६० लाख गैरआवासीय नेपालीसहित ३ करोड नेपालीहरुको प्रतिनिधित्व गरेर काम गर्नुपर्ने महतोले जनाए । साथै उनले विदेशमा कमाएको सीप, ज्ञान र पूँजीलाई स्वदेशमा लगानी गर्दै जान समेत सबैलाई आग्रह गरे ।

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्था २० औं वर्षमा प्रवेश गर्दैगर्दा संस्थाभित्र भएका विकृति विसंगतीको अन्त्य गर्नुपर्ने चुनौती यथावत रहेको बताए । उनले सम्पुर्ण देश विदेशमा छरिएर रहेका नेपालीहरुको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको कामना गर्दै विशेष पुजाआजा गर्न पशुपतिनाथ तथा स्वयम्भूनाथमा आएको जानकारी दिए ।

संघलाई एकताको सन्देश दिदै आगामी ११ औं महाधिवेशनले सही नेतृत्व चयन गरोस् र सम्पुर्ण एनआरएनएहरुलाई सुदवुद्धि दियोस् भन्नका लागि हरेक वर्ष पुजाआजा गर्ने गरेको उनले बताए ।

कार्यक्रममा आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा. बद्री केसी, आरके शर्मा, महेश श्रेष्ठ र रबिना थापासहित एनआरएनए पदाधिकारीहरु तथा विभिन्न मुलुकबाट ११ औ विश्वसम्मेलनमा भाग लिन नेपाल आइपुगेका एनआरएन अभियान्ताहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *