एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर लागिरहेका बेल्जियमका लोकप्रसाद दाहालले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।

एनआरएनएको वर्तमान कोषाध्यक्ष दाहालले एनआरएनएको ११ औं महाधिबेशननका लागि सचिव पदमा उम्मेदवारी दिएका हुन् । एनआरएनए अभियानमा दाहाल एनसीसीमा सफलतापुर्वक काम गरेर आइसीसीमा क्रमिकरुपमा पदमा उक्लिरहेका छन् ।

एनआरएनए एनसीसी बेल्जियमको सदस्य, महासचिव, अध्यक्ष हुँदै आइसीसीको सहकोषाध्यक्ष भएर अहिले कोषाध्यक्षमा रहेर काम गरिरहेका दाहाल आगामी कार्यकालका लागि सचिव पदमा जाने निर्णयमा छन् ।

आफ्नो उम्मेदारी बारे दाहाल भन्छन् –‘धेरै साथीहरुले एकैचोटी जम्प गरेर माथिको पद ताकिरहनु भएको छ, म भने स्टेप बाई स्टेप संस्थालाई बुझ्ने प्रयासमा छु अझैपनि । यो संस्थालाई मैले अझै पनि अध्ययन गर्नु पर्ने छ ।’

कोषाध्यक्ष भएर सचिव पदमा जाँदा धेरै काम गर्न आवश्यक रहेको दाहालको भनाई छ । संस्थामा अझ धेरै सिक्नु पर्ने र गर्नु पर्ने काम रहेकाले लामो यात्रा तय गर्न क्रमिकरुपमा अगाडि बढ्ेको दाहालको जिकिर छ ।

उनी भन्छन् –‘मेरो विचारमा लागेको के हो भने युरोपले पनि नेतृत्व लिइसक्यो, अमेरिका, जापानले पनि नेतृत्व लिइसक्यो विश्वमा रहेका धेरै नेपालीहरुका आवाज के छन् भने अब खाडीले पनि नेतृत्व गर्नुपर्छ भन्ने नै हो ।’

विदेशमा रहेका नेपालीहरुका आवाजलाई बुलन्द गर्नुका साथै एनआरएनएको खस्किदो साखलाई सुधार्नका लागि सचिवमा उम्मेद्वारी दिएको दाहालको भनाई छ ।

दाहाल भन्छन् –‘हिजोका दिनमा निर्वाचन हुँदै गर्दा सबैको कमिकमजोरी पक्कै भए, अव संस्थाभित्रको बेतिथि, नकारात्मक दृष्टि तथा सोचलाई सबै मिलेर सफा गर्नुपर्नेछ ।’ संस्थामा रहेका जिम्मेवार व्यक्तिहरुले जिम्मेवारीपूर्ण सोचेको खण्डमा सबै एक ठाउँमा आउँने दाहालको भनाई छ ।

एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध्यपूर्वलाई यस पटक नेतृत्व दिनु पर्ने बताउदै दाहाल यस अभियानलाई अझ सशक्त बनाउन आफु सचिव पदका लागि अघि सरेको बताउँछन् ।

उनी भन्छन् –‘मेरो विचारमा लागेको के हो भने युरोपले पनि नेतृत्व लिइसक्यो, अमेरिका, जापानले पनि नेतृत्व लिइसक्यो विश्वमा रहेका धेरै नेपालीहरुका आवाज के छन् भने अब खाडीले पनि नेतृत्व गर्नुपर्छ भन्ने नै हो ।’

खाडीमा एनआरएनएलाई हाक्न सक्ने व्यक्तिहरु आइसकेका छन् । दाहाल भन्छन् –‘अहिले एक से एक एनआरएनएलाई हाक्न सक्ने खाडीमा छन् । अहिले सबैको धारणा खाडीलाई एकचोटी हेरौ न त भन्ने नै हो । सबै नेतृत्वमा बसेका साथीहरुले मनोभावना अनुसार खाडीलाई सर्वसम्मत गरेर लैजानुपर्छ र यो भन्दा ठूलो महानता केही पनि हुँदैन ।’

हिजोका दिनमा संस्थामा रहेर गरेका कामको आधारमा सचिव पदमा आफुलाई विजयी गराउनका लागि सबैलाई दाहालले अपील पनि गरेका छन् ।