एनआरएनए महिला उपाध्यक्षमा यासमिनलाई सर्वसम्मत बनाउने कसरत

news-details

गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छिन् । वर्तमान कार्यसमितिमा महिला उपाध्यक्षकै जिम्मेवारीमा रहेकी यासमिनले आगामी कार्यकालका लागि पनि सोही पदमा दोहोरिने घोषणा गरेकी हुन् ।

‘संस्थागत बिकास, दर्बिलो एकता : साझा एनआरएन, हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी यासमिन मध्यपूर्वबाट एनआरएनए अभियानमा सम्भावना बोकेकी महिला नेतृ हुन् ।

प्रवासमा रहेका श्रमिक तथा महिलाका समस्या र हकअधिकारका लागि निरन्तर आवाज उठाउदै आइरहेकी यासमिनले एनआरएनए अभियानमा महिला सहभागिता बढाउन र सिंगो संस्थाको गरिमालाई उच्च बनाउन आफु प्रतिवद्ध भएर लाग्ने बताएकी छिन् ।

यसका साथै उनले एनआरएनएमा समयसापेक्ष रुपान्तरणको आवश्यकता रहेको र समृद्ध नेपाल बनाउने सपना पुरा गर्न प्रवासमा रहेका नेपालीको ज्ञान, सीप र लगानी भित्र्याउन जरुरी रहेको बताउँदै त्यसमा पनि आफुले सक्दो प्रयत्न गर्ने बताएकी छिन् । ‘रुपान्तरणको लागि प्रविधि, पारदर्शिता र समावेशी एकता, समृद्धिको लागि ज्ञान, सीप र लगानीको प्रतिवद्धता’ उनको भनाई छ ।

यासमिनको उम्मेदवारीसँगै एनआरएनए नेतृत्वका लागि प्यानलनै बनाएर प्रतिष्पर्धामा उत्रन लागेका आरके शर्मा, महेश श्रेष्ठ र डा. बद्री केसीले आफ्नो टिमबाट महिला उपाध्यक्षमा अर्को उम्मेदवार नउठाउने बुझिएकाले यासमिन सर्वसम्मत हुने संभावना बढेको छ । हालसम्म यो पदमा अन्य कसैले पनि उम्मेदवारी घोषणा वा दावी गरेका छैनन ।

एनआरएन अभियानमा लामो समयदेखि सक्रिय यासमिन सामाजिक कार्यमा पनि संसारभर छरिएर रहेका गैरआवासीय नेपालीमाझ चिरपरिचित अनुहार हुन् । एनआरएनए मध्यपूर्व क्षेत्रको महिला संयोजक, आइसीसी सदस्य हुदै हाल महिला उपाध्यक्षको जिम्मेवारीमा रहेकी यासमिनको कार्यशैली, सक्रियता एवं नेतृत्व क्षमताका कारण आगामी कार्यसमितिमा उनलाई सर्वसम्मत ल्याउनुपर्ने आवाज उठेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *