एनआरएनए उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पदका लागि काठमाडौंबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्दै

news-details

गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष महेश कुमार श्रेष्ठले अध्यक्ष पदका लागि औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

आगामी अक्टोवर १७ देखि २० तारिखसम्म काठमाडौंमा हुने महाधिबेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले उपाध्यक्ष श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

‘समृद्ध नेपाल, सम्मानित प्रवासी नेपाली’ मुल नारासहित उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पदका लागि आगामी सेप्टेम्वर १५ तारिखमा काठमाडौमा औपचारिक घोषणा सभा गर्ने जानकारी दिएका छन् ।

श्रेष्ठले आफ्नो कार्यकालमा संघले गर्ने कामहरुलाई ५ रणनैतिक योजना बनाई निश्चित कार्यतालिका अनुसार समयमानै पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भनेका छन्–‘मेरा विस्तृत ठोस कार्य योजनाहरु यही सेप्टेम्वर १५ तारिखमा काठमाण्डौमा गरिन लागेको औपचारिक घोषणा सभामा पेश गर्ने जानकारी गराउँदछु ।’

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभन्दा पहिला विभिन्न देशमा पुगेर आफ्नो पक्षमा माहोल बनाइरहेका श्रेष्ठ जापानमा कर्मथलो बनाइरहेका छन् ।

उनी भन्छन्–‘परिणाममूखी ,पारदर्शी र विश्वासयोग्य एनआरएनए वनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रण गर्दै विश्वभर छरिएका गैरआवासीय नेपालीहरुसंगको घनीभूत छलफल र अन्तरक्रियापछि संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु ।’

संघको वीस वर्षको इतिहासमा दुई बर्ष अगाडिको संघको दशौँ महाधिवेशन सुखद हुन् नसकेकोमा उनमा चिन्ता छ । संघको दशौँ महाधिवेसनमा भएको विवादले गर्दा संघको गरिमामा ठूलो आंच आएको र संघप्रति ठूलो अविश्वास छाएकोले त्यसलाई चिर्न आफ्नो नेतृत्व आवश्यक रहेको उनको दावी छ ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद्को सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दा संघको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको, संघलाई थप सुरक्षित, विश्वास योग्य वनाउन र निर्वाचन सिष्टममा अनलाइन बनाउन नेतृत्वदायी भूमिका खेलेको श्रेष्ठले बताएका छन् ।

उनले भनेका छन्–‘विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नु हुने मित्रहरुलाई म पद र प्रतिष्ठाका लागि भन्दा संघलाई ठोस योगदान दिने उद्देश्यले एनआरएनएमा सक्रिय हुदै आएको छु भन्ने कुरा प्रष्ट छ ।’

एनआरएनएको आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष आरके शर्माले पनि सक्रियता बढाएका छन् । सेप्टेम्बरको अन्तिम साता काठमाडौंमा औपचारिकरुपमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका शर्मा अहिले विभिन्न देशका एनआरएनहरुसँग भेटवार्तामा व्यस्त छन् ।

त्यसैगरी वर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसीले पनि अध्यक्ष पद दोहो¥याउने तयारी गरिरहेका छन् । उनले औपचारिकरुपमा उम्मेदवारी दिने घोषणा नगरेका भएपनि आन्तरिक तयारी तीब्र बनाएका छन् । वर्तमान अध्यक्ष रविना थापा र वर्तमान उपमहासचिव विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताइरहेका छन् । तर थापा र अधिकारीलाई अध्यक्ष पदको रेसमा धेरैले नराखेको देखिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *