गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा
इराक र कुवेतमा नेपालीहरुले व्यहोर्नुपरेको समस्या सम्बोधनका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण
- भदौ १, २०८०
- 0
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर संघको विश्व सम्मेलनको लागि निमन्त्रणा दिएको छ ।
संघका कार्यकारी अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन, सोही अवसरमा हुने विश्व ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनको विषयमा जानकारी गराएका थिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले विश्व सम्मेलनको सफल आयोजनाका लागि शुभकामना दिँदै आफू पनि उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेटमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको बाटो खुलिसकेको र नियमावली निर्माणको चरणमा रहेकोले त्यसलाई सहज र एनआरएनमैत्री बनाउन प्रधानमन्त्री तहबाटै पहलकदमी लिइदिन अनुरोध गरे ।
जवाफमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको भन्दै केही अप्ठ्यारो देखिए सुल्झाउँदै अघि बढ्ने बताए ।
यस्तै संघका उपाध्यक्ष आर के शर्माले इराक र कुवेतमा पासपोर्ट नवीकरण लगायत नेपालीहरुले व्यहोर्नुपरेको अन्य समस्या सम्बोधनका लागि कुटनीतिक पहलका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री दाहालले त्यसका लागि पछिल्लो अवस्था मूल्यांकन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
फरक प्रसंगमा प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा गैरआवासीय नेपाली संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा उक्त योजनालाई अझ बृहत रुपमा अघि बढाउन आग्रह गरे ।
भेटका क्रममा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र डी.बी क्षेत्री, महासचिव केशव पौडेल, एनसीसी पूर्व मानार्थ परिषद् सदस्य सनी वली, पूर्व सल्लाहकार सुरेन्द्र श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो ।