गैरआवासीय नेपाली संघमा आगामी अक्टोबरमा हुने महाधिबेशनको चटारो बढ्न थालेको छ । नेतृत्वका आकांक्षीहरुमा त झन दौडधुप बढ्ने नै भयो । अहिले एनआरएनएका उपाध्यक्ष आरके शर्माको दौडधुप निकै बढेको छ ।

यूरोप, मध्यपुर्व, एसिया प्यासिफिक क्षेत्रको भ्रमण सकेर दुई दिनका लागि नेपाल आएका शर्माले एनआरएनएले उठाएका मुद्धा कार्यान्वयनका लागि नेपाल सरकारसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् । शर्माको नेतृत्वमा सरकारी भेटवार्ता सकेर उनी बिहीबार एनआरएनए अभियानलाई अगाडि बढाउन जापान भ्रमणमा गएका छन् ।

दुई दिन नेपालमा रहँदा शर्माले परराष्ट्रमन्त्री एनपी साउँद, श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव केवल भण्डारी, राजनैतिक दलका नेतासँग भेटवार्ता गरेर गैरआवासीय नेपालीले भोग्नु परेको मुख्य समस्या पासपोर्ट नवीकरण,श्रम स्वीकृति सहज व्यवस्था मिलाउन तथा गैरआवासीय नागरिकता छिटो जारी गर्न अनुरोध गरेका थिए ।

इराक तथा युरोपमा रहेका २० हजारभन्दा बढी नेपालीलाई अहिले पासपोर्ट नवीकरण तथा श्रम नवीकरण समयमा गर्नुपर्ने समस्या रहेको छ । शर्माले श्रमिकको संख्या बढी भएका देशहरु इराक,माल्टा तथा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न परराष्ट्र मन्त्री एनपी साउदलाई अनुरोध गरेका थिए ।

एनआरएनए उपाध्यक्ष शर्माको दौडधुप : नेपालको उच्चस्तरीय भेटवार्तापछि लागे जापान

एनआरएनएको ओमानमा भएको मध्यपूर्व भेलाको म्यान्डेट अनुसार विदेशमा बस्ने नेपालीको समस्या समाधानको लागि नेपाल सरकारका मन्त्रीसहित उच्च सरकारी अधिकारीहरूसँगको भेट सकारात्मक भएको उपाध्यक्ष आरके शर्माले बताए ।

‘माननीय परराष्ट्र मन्त्रीसँग पासपोर्ट नवीकरण तथा श्रीमान् श्रम सचिवसँग श्रम नवीकरणको लागि सहजीकरण गर्न अनुरोध गरेको थिए’,शर्माले भने,‘गैरआवासीय नागरिकता छिटो कार्यविधि बनाएर कार्यान्वयन हुनेमा आशावादी भएका छौं ।’

वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको परिवारले पाउने रकम १० लाख बनाएकोमा स्वागत गर्दै शर्माले त्यसलाई अझै बढाउनुपर्ने माग राखेका छन् ।

एनआरएनए उपाध्यक्ष शर्माको दौडधुप : नेपालको उच्चस्तरीय भेटवार्तापछि लागे जापान

‘हाम्रो प्राथमिकता वैदेशिक रोजगारीमा जानेहरू सुरक्षित घर फर्काउनेमा नै हुने छ’,‘शर्माले भने,“यदि कसैको दुःखद मृत्यु भएमा उसको आश्रित परिवारलाई १० लाख दिने क्षतिपूर्तिलाई अझ बढाउनुपर्छ ।’

विभिन्न देशमा रहेका एनआरएन एनसीसीमा प्रत्यक्ष पुगेर अध्ययन गरेर छलफल गरिरहेका शर्माको जापान भ्रमण अझ सार्थक हुने अपेक्षा गरेका छन् । जापान रहँदा गैरआवासीय अभियन्ता तथा सरोकारवालासँग अभियानलाई अगाडि लैजाने विषयमा छलफल गर्ने शर्माले बताए । जापानमा बस्ने नेपालीहरूले देखेको सम्भावनाको बारेमा शर्माले छलफल गर्ने उनको भनाई छ ।

५ दिने जापान भ्रमणको क्रममा नेपाली समुदायसँग भेटघाट तथा अभियानको लागि महत्वपूर्ण सुझाव लिने तयारी शर्माको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन आगामी असोजको अन्तिम साता काठमाडौँमा हुने घोषणा भइसकेको छ । आगामी अधिवेशनमा अध्यक्षको लागि तयारी गरेका शर्माले अभियन्ताहरूसँग छलफल गरिरहेका छन् ।

‘एनआरएन अभियानलाई कसरी अगाडि बढाउने भन्ने विषयमा म अहिले अग्रजहरूसँग छलफलमा छु’,‘शर्माले भने,‘अग्रज तथा एनआरएन अभियानमा चासो राख्ने सबैसँगको छलफल र सल्लाहपछि नेतृत्वका लागि औपचारिक घोषणा गर्नेछु ।’

कतारमा कर्मथलो बनाएका शर्मा एनआरएनए अभियानमा मध्यपुर्वबाट नेतृत्व अहिलेसम्म नपाएको हुँदा सर्वसम्मत मध्यपुर्वलाई अध्यक्ष पद दिनका लागि लविङ गरिरहेका छन् ।