क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले मध्यपूर्व तथा एसियाली मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या नजिकबाट बुझेको व्यक्ति अब संघको नेतृत्वमा आउनु पर्ने बताएका छन् ।

मलेसियाको क्वालालम्पुरमा आयोजित एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संघमा अब श्रमिकमैत्री नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

‘जरैदेखि श्रमिकका समस्या बुझेकाले अबको एनआरएनए हाँक्नुपर्छ, भुँइ मान्छेका समस्या बुझेको व्यक्ति अब एनआरएनएको नेतृत्वमा आउनुपर्छ,’ शर्माले कार्यक्रममा बताए ।

कतारमा कर्मथलो बनाएका शर्मा संघको आउँदो कार्यकालका लागि अध्यक्षका उम्मेदवारी दिने तयारीमा छन् । खाडी तथा एसियाली मुलुकमा कार्यरत श्रमिकका समस्या यस क्षेत्रमै रहेका व्यक्तिले मात्र बुझ्न सक्ने बताउँदै शर्माले भने, ‘टाढाको आरनभन्दा नजिकको उदिन काम लाग्छ ।’

श्रमिकका समस्या बुझेको व्यक्ति अब एनआरएनएको नेतृत्वमा आउनुपर्छ : आरके शर्मा

उनले खाडी तथा मलेसियामा काम गर्ने श्रमिकका पीडा आफूले नजिकबाट भोगेको तथा अनुभूति गरेको बताएका छन् । वैदेशिक रोजगारीमा ज्यान गुमाउने श्रमिकका परिवार वा आफ्न्तले पाउने क्षतिपूर्तीको दायारा बढाउन शर्माको माग छ ।
‘विदेशमा मृत्युवरण गरेका श्रमिकका परिवारले कम्तिमा ५० लाख नेपाली रुपैयाँ पाउनुपर्छ । यसका लागि सरकारवाला सबै निकायले पहल गनुपर्छ,’ उनले भने, ‘एनआरएनले पनि अब श्रमिकका यस्ता मुद्धालाई प्राथामिकता दिनुपर्छ ।’

खाडी तथा मलेसियामा भाषा नबुझेकै कारण कतिपय नेपालीले जेल जीवन बिताइरहेको बताउँदै श्रमिक सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । ‘मध्यपूर्वको नेतृत्व आउँदा श्रमिकका यस्ता समस्या हल हुन्छन्,’ उनले भने ।

श्रमिकका समस्या बुझेको व्यक्ति अब एनआरएनएको नेतृत्वमा आउनुपर्छ : आरके शर्मा

७० प्रतिशत रेमिटयान्स् खाडी मुलुक तथा मलेसिया र कोरियाबाट नेपालमा जाने तर, देशको अर्थतन्त्र चलायमान बनाउने उनीहरु सधै बिचराको पात्र बनाइएको भन्दै उनले गुनासो समेत गरे ।
उनको प्रश्न छ, ‘देशको अर्थतन्त्र धान्ने हामी कहिलेसम्म विचराको पात्र बन्ने ?’

शर्मा नेतृत्व सम्हाल्ने अभियानमा अहिले देश दौडाहामा रहेका छन् । उनी मध्यपुर्व, यूरोप तथा अहिले एसिया प्यासिफिक मुलुकको भ्रमणमा निस्किएका छन् ।