गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) मलेसियाले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

संघको अध्यक्षमा उम्मेदवारी दिएका बर्तमान अध्यक्ष विनोद थापा र राकेश महतोबीच सहमति जुटेपछि एनआरएनए मलेसियामा सर्वसम्मति नेतृत्व चयन भएको हो ।

थापा र महतोबीच एक–एक वर्ष अध्यक्ष बन्ने आन्तरिक (भद्र) सहमति भएको जनाइएको छ । सोही सहमति अनुसार महतोले अहिले अध्यक्षको उम्मेदवारीबाट अन्तिम समयमा पछि हटेर थापालाई समर्थन गरेका हुन् ।

निर्वाचन समितिको जिम्मेवारी पाएका आईसीसी सचिव खगेन्द्र न्यौपानेका अनुसार महतोलाई अहिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन गरिएको निर्वाचन प्रमुख न्यौपानेले बताए ।
एनआरएनए मलेसियामा थापा यसअघि पनि सहमतिमै अध्यक्ष बनेका थिए । २ वर्षे कार्यकाल विवादरहित सफल रुपमा चलाएका थापालाई नेतृत्वमा दोहो¥याउन आवाज उठेको थियो भने संघमा नयाँ नेतृत्वको माग अनुसार महतो अगाडि सरेका थिए ।

न्यौपानेले जुटाए सहमति, सबैको साथ

एनआरएनए मलेसियाको सबै पदमा सहमति भएपनि अध्यक्ष र महासचिव पदमा सहमति जुट्न मुस्किल परेपछि चुनाव नै हुने अवस्था आएको थियो । दुई पदका लागि मात्र निर्वाचन गराउनुपर्ने स्थिति सिर्जना भएपछि निर्वाचन समिति संयोजक तथा आइसीसी सचिव न्यौपानेले सहमति जुटाउन महत्वपुर्ण भूमिका खेलेका थिए ।

‘हामी सुरुदेखि नै निर्वाचन गराउन हुँदैन भन्ने पक्षमा थियौं । धेरै प्रयासपछि अन्तिममा सहमति भएको छ । एकदमै राम्रो भयो र खुशी छु । निर्वाचनका लागि हुने ठुलो खर्च समेत जोगियो, त्यो रकम नेपाली श्रमिकहरुको लागि प्रयोग गर्न सकिन्छ’ न्यौपानेले भने ।

उनले भनेका छन्–‘एनआरएनए मलेसियाले विगतदेखि नै सहमति र सहकार्यको उदाहरण विश्व सामु देखाउँदै आएको थियो, आगामी कार्यकालका लागि पनि मलेसियाले सर्बसम्मत नेतृत्व चयन गर्ने भएको छ । सर्वसम्मत बनाउनका लागि भूमिका खेल्नु हुने राजनीतिक पार्टीका संगठनका प्रतिनिधि, उम्मेदवारहरु र अग्रजहरुप्रति हार्दिक नमन गर्दछु ।’ उनले विशेषगरी उम्मेदवारी दिएर सहमतिका लागि ठुलो हृदय देखाउने उम्मेदवारहरुलाई आभार प्रकट गरेका छन् ।

एनआरएनए एसिया प्यासिफिक उपसंयोजक तथा एनआरएनए मलेसियाका पुर्वअध्यक्ष हरि भट्टराईले मलेसियाबाट विश्वभर सहमतिको सन्देश गएको जानकारी दिए । उनले एनआरएनएभित्र पद भन्दा पनि श्रमिकको पक्षमा काम गरेर देखाउने बेला आएको बताएका छन् । उपसंयोजक भट्टराईले एनआरएनएमा समय दिन सक्ने जुझारु टिम आएकोमा खुशी व्यक्त गरेका छन् ।

एनआरएनए मलेसियाको अधिवेशन ३० जुलाइमा हुँदैछ । यही अधिवेशनले नवनिर्वाचित पदाधिकारीलाई सपथ गराउनेछ । अधिवेशनका लागि एनआरएनए आइसीसी पदाधिकारी लगायत बिभिन्न एनसीसीका पदाधिकारीहरुका साथमा नेपालका राष्ट्रिय कलाकारहरु र पत्रकारहरुको उपस्थिती रहने अध्यक्ष थापाले बताए ।

एनआरएनए मलेसियाका निर्विरोध पदाधिकारीहरु

निर्विरोध निर्वाचित कार्यसमितीको अध्यक्षमा बिनोद थापा, वरिष्ठ उपाध्यक्षमा राकेश महतो (एक बर्षपछि अध्यक्ष हुने शर्तमा), उपाध्यक्षहरुमा ईन्द्र नारायण लिम्बु, हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी र दिल कुमार केरुङ, युवा उपाध्यक्षमा नारायण अधिकारी, महिला उपाध्यक्षमा लिला मगर, महासचिवमा टेक बहादुर अधिकारी, सचिवमा श्याम बहादुर श्रेष्ठ र विष्णु प्रसाद बराल, कोषाध्यक्षमा बाल ध्वज लिम्बु, युवा संयोजकमा राजु लामा र महिला संयोजकमा ईन्दु बस्नेत सर्वसम्मतले चयन भएका छन ।

यस्तै सदस्यहरुमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेषराज ज्ञवाली (हरीं), खेम राज खत्री, विजय मण्डल निर्विरोध निर्वाचित भएका छन भने अन्य सदस्य पछि थपिने निर्वाचन प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।