मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पुरा, अतिथिहरु मस्कट प्रस्थान शुरु

news-details

‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी, राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहितको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

ओमानको राजधानी मस्कटमा हुने सम्मेलनका लागि सहभागीहरुको उपस्थिति हुन थालेको आयोजकको भनाई छ । सम्मेलन बुधबार जुन २८ देखि जुन ३० सम्म मस्कटमा हुँदैछ ।

सम्मेलनमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्कासहित श्रम मन्त्री शरतसिंह भण्डारी, पुर्वमन्त्रीहरु, सरकारी अधिकारी, विश्वभरका एनआरएनए अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता रहने मध्यपुर्व संयोजकद्वय मनोज गोर्खाली र राजेन्द्र अर्यालले जानकारी दिएका छन् । उनीहरुले सम्मेलनको तयारी पूरा भएकोले सहभागि अतिथिहरुलाइ स्वागत गर्न आतुर रहेको जनाएका छन् ।

सम्मेलनमा विशेष गरेर सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यन्वयन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारका साथै रेमिट्यान्सको सही सदुपयोग र लगानीका विषयमा छलफल हुने जनाइएको छ ।

सम्मेलनका क्रममा एनआरएनए अभियन्ता र सरोकारवालाबीच अन्तरक्रिया र प्यानल छलफल हुनेछ । यस्तै सुरक्षित आप्रवासन नीति र अभ्यास प्रवर्द्धन, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र प्रबर्द्धन, आर्थिक लगानीको वातावरण, अवसर र रेमिट्यान्सको सदुपयोग, बैदेशिक रोजगारीमा रहेकाहरुलाई मतदान अधिकारको प्रत्याभूति जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ ।

यस्तै पर्यटन आदानप्रदान कार्यक्रमको प्रवर्द्धन, गैर वासीय नेपालीहरुको सामुदायिक संलग्नता र सामाजिक एकीकरण, मध्यपूर्वमा एनआरएनए अभियानको विकास एवं प्रवर्द्धन जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ ।

सम्मेलनका एजेण्डाहरुबाट अधिकतम परिणाम निकाल्नका निम्ति उचित छलफल र सवै अभियन्ताहरुको सक्रिय सहभागिता अति आवश्यक रहेको एनआरएनए मध्यपूर्वले जनाएको छ ।

सम्मेलनलाई ऐतिहासिक रुपमा सफल पार्न एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएनए आईसीसी उपाध्यक्ष डीबी क्षेत्री, उपाध्यक्ष आरके शर्मा, एनआरएनए ओमानका अध्यक्ष बिकल झालगायत ओमानबासी नेपाली र मध्यपूर्वमा रहेका एनआरएनए अभियन्ताहरु सक्रिय रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *