विभाजित एनआरएनएबीचको विवाद मिल्यो, एकताको ११ औं महाधिबेशन हुने

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको हो । दुई पक्षबीच एकताका लागि सहमतिमा हस्ताक्षर भएको छ ।

दुबै समूहबीच भएको वार्तापछि आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र पुर्व अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् ।

एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा ‘प्रभाकर’ ले पहल गरेपछि एकताको सहमति सार्थक भएको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न केही असहज भएको बताउँदै एकठाउँमा एउटै बनेकोमा खुशी लागेको बताए । प्रधानमन्त्रीले दुईटै विधानलाई परराष्ट्रबाट प्रमाणित गराई एउटै बनाउन सुझावसमेत दिए । आइतबार नै एनआरएनएका दुवै पक्ष परराष्ट्र मन्त्रालय पुगेर विधानको प्रमाणिकरणमा जुटेका छन् ।

सहमति अनुसार दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गर्ने र उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनौट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनको अनुगमन गर्नेछ ।

यस्तै एघारौ महाधिवेशन र निर्वाचनमा दुवै पक्षका प्रतिनिधिहरुको सहभागितालाई सुनिश्चित गर्ने, निर्वाचनमा देखिएका समस्याहरुको दीर्घकालिन समाधानका लागि दुवै पक्षको प्रतिनिधित्व रहने गरी एक उच्चस्तरीय विधान संशोधन समिति गठन गरी ११ औ महाधिवेशनको बन्द सत्रले अनुमोदन गरी साधारणसभामा विधान संशोधन प्रस्ताव पेश गर्ने सहमति भएको छ ।

यस्तै परराष्ट्र मन्त्रालय र संघको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैरआवासीय नेपाली संघसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधिहरू, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको छ ।

विभाजन भएको संस्था एकताबद्ध बनाउन ठूलो कार्य भएको र बाँकी कामको लागि परराष्ट्र मन्त्रालयमा छलफल हुने अध्यक्ष विनोद कुँवरले जानकारी दिएका छन् ।

एनआरएनएको एकताका लागि धेरै पहल भएपछि अहिले सार्थकता पाएको वार्ता समितिका संयोजक डिबी क्षेत्रीले जानकारी दिए ।

सहमतिले अक्टोबरमा हुने ११औँ महाधिवेशन र निर्वाचनलाई कुनै बाधा नपर्ने सहमति पत्रमा उल्लेख छ ।

एनआरएनए एकताका लागि कार्यकारी अध्यक्ष डा. बद्री केसी, अर्का अध्यक्ष विनोद कुँवर,वार्ता समितिका संयोजक जानकी गुरुङ र डिबी क्षेत्री तथा उपाध्यक्ष आरके शर्मा पछिल्लो समय निरन्तर लाग्दा एकताको सहमति निस्किएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *