मध्यपुर्व क्षेत्रीय सम्मेलनले सहभागीबाट कुनै शुल्क नलिने, सम्मेलन ओमानको मस्कटमा हुँदै

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित आगामी जुन २८ देखि ३० तारिखसम्म ओमानको राजधानी मस्कटमा हुने भएको छ ।

गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषदको मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन हुन लागेको हो । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।

मध्यपुर्व क्षेत्रीय भेला ऐतिहाँसिक र केही फरक हुने आयोजकको दावी छ । सम्मेलनमा आउने अतिथि तथा सहभागीका लागि कुनै पनि रजिष्ट्रेशन शुल्क र आर्थिक सहयोग नलिने निर्णय आयोजकको छ । एनआरएनएको क्षेत्रीय सम्मेलन तथा भेलाहरुमा रजिष्ट्रेशन शुल्क र आर्थिक सहयोग उठाएर कार्यक्रम गर्ने प्रचलनलाई मध्यपुर्वले पहिलो पटक तोड्न लागेको हो ।

एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खालीले सम्मेलनमा सहभागी हुन आउने पाहुनाबाट कुनै शुल्क नलिने निर्णय भएको जानकारी पत्रकार सम्मेलन मार्फत दिए । उनले भने–‘ अतिथि देवो भव भन्ने स्लोगन राखेर हामीले अन्य रिजनबाट आउने डेलिगेट्सहरुसँग १ रुपैया पनि पैसा लिदैनौ र अन्य रिजनबाट हामीले कुनै स्पोन्सर पनि लिने छैनौ ।’ तर अन्य क्षेत्रबाट सहभागी हुनेले आउने टिकट र होटलको व्यवस्था चै स्वंमले गर्नुपर्ने आयोजकले जानकारी दिएका छन् । तर, मध्यपुर्वबाट सहभागिता हुनेका लागि भने निश्चित शुल्क तोकिएको आयोजकको भनाई छ ।

एनआरएनएका अध्यक्ष कुल आचार्यले मध्यपूर्वले मात्रै सबै खर्च गरेर बाहिरबाट आउने पाहुनाहरुलाई सम्मान र स्वागत गर्ने निर्णयले मध्यपुर्वको एकता,संकल्प र काम गर्ने तीब्र इच्छा शक्ति देखाएको बताएका छन् । उनले भने–‘जुन मध्यपूर्वका साथीहरु एकजुट भएर निर्णय गर्नुभयो संसारका गैरआवासीय नेपालीहरुलाई पाठ सिकाउन सक्नुभयो, त्यसको लागि पनि हार्दिक बधाई दिन चाहान्छु र कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।’

एनआरएनएका कार्यकारी अध्यक्ष डा.बद्री केसीले समेत मध्यपुर्वले गरेको निर्णयको स्वागत गरेका छन् । मध्यपुर्वले सम्मेलनको खर्च आफै जुटाएर गर्ने ठुलो उदाहरण प्रस्तुत गरेर मुहार नै फेरेको संज्ञा दिएका छन् । उनले मध्यपुर्वले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलेको भन्दै मध्यपुर्वको एकताबाट सम्मेलन गर्न नसक्ने प्रश्नै नरहेको बताएका छन् । उनले भने–‘ आज मध्यपूर्वले एउटा ठुलो उदाहरण देखाएको छ, करिब २० लाख श्रमिक मध्यपूर्वमा रहेको अवस्थामा त्यहाँ हुने सम्मेलनमा दुई दुई जना मन्त्रीहरु आउँदै हुनुहुन्छ, अव मध्यपुर्वलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ, यो अर्को उपलब्धी हो ।’

मुख्यतया सम्मेलनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा उनीहरुको योगदान, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्यका विषयमा छलफल गर्ने जनाइएको छ ।

त्यसैगरी मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, पुनःएकीकरण, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुने जानकारी दिइएको छ ।

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिने जानकारी एनआरएनएका उपाध्यक्ष आरके शर्माले दिएका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुने एनआरएनएका युवा उपाध्यक्ष राज रेग्मीले बताएका छन् ।

। विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको महिला उपाध्यक्ष यसमिन बेगम सैयदले जानकारी दिइन् ।

श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रित हुने भएकोले उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गर्ने मध्यपुर्वका अर्का संयोजक राजेन्द्र अर्याल (जोन) ले दिए । सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने अनुमान आयोजकको छ ।

पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष बद्री केसी, कुल आचार्य, उपाध्यक्ष आरके शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष यसमीन बेगम सैयाद, सचिव प्रविन गुरुङ, युवा संयोजक अब्दुल वासिद, एनसीसी कतारका अध्यक्ष विकल झालगायतले मध्यपुर्व सम्मेलन सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *