‘पहिलो गैरआवासीय नेपाली नागरिकता म आफैं हस्तान्तरण गर्नेछु’-प्रधानमन्त्री प्रचण्ड

news-details

सरकारले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपाली संघले सरकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई धन्यवाद ज्ञापन गरेको छ ।

संघका उपाध्यक्ष आर.के शर्माको नेतृत्वमा सोमबार बिहान बालुवाटारमा गएको एनआरएनए प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटी ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेकोमा धन्यवाद ज्ञापन गरेको हो । नेपालको संविधानले दिएको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा एनआरएनएले औपचारिकरुपमा खुशी व्यक्त गरेको जनाएको छ ।

संघका उपाध्यक्ष शर्माले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद पत्र हस्तान्तरण गर्दै विदेशमा रहेका लाखौ नेपालीको मागको संवोधन भएकोमा २० औं लाख नेपाली खुशी भएको बताए ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसँग विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूंजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध भएको उल्लेख गर्दै एनआरएनए उपाध्यक्ष शर्माले भने–‘एक पटकको नेपाली सधैको नेपाली भन्ने मूलमन्त्र सार्थक बन्नेमा विश्वस्त भएका छौ ।’ गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकतासम्बन्धीको कार्यविधि बनाई कार्यान्वयनको चरणमा पु¥याउन शर्माले आग्रह गरे ।

साथै एनआरएनएले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत संबोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत अनुरोध गरेको छ । भेटका क्रममा उपाध्यक्ष शर्माले श्रमिकले पठाएको साना साना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी क्लीन इनर्जी तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा सुनिश्चित प्रतिफल सहितको लगानीको वातावरण बनाउन अनुरोध गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघले धन्यवाद व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै लामो समय र रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउंदै गैरआवासीय नेपालीहरुका सुझावलाई मनन गरिने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने–‘पहिलो गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ म आफै उपस्थित भएर गर्ने गरी तयारी गरिरहेका छौ ।’

प्रधानमन्त्री प्रचण्डले एक पटकको नेपालीले सधै नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आप्mनो मन छोएको र अव नेपालका लागि केही गर्ने समय आएको बताए ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्पmत संबोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिदै छिटै कार्यान्वयनमा आउने जानकारी दिए ।

सोही अवसरमा पोर्चुगल, माल्टा र इराकमा यथासक्य छिटो दूतावास स्थापना गरी त्यहां रहेका नेपालीहरुका समस्या समाधानका लागि संघको प्रतिनिधिमण्डलले ध्यानाकर्षणपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ ।

यसै अवसरमा कानुन सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताए । सो अवसरमा महान्यायधिवक्ता डा. दिनमणी पोखरेलको समेत उपस्थिति रहेको थियो ।

भेटवार्तामा संघको प्रतिनिधि मण्डलमा संघका उपाध्यक्ष आर. के. शर्मा, संस्थापक भीम उदास, टि.बि कार्की (पुर्व उपाध्यक्ष), गोेविन्द प्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए), भिमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), उद्वव भट्टराई (रोजगार मिडिया), रामजी बगाले (जनसवाल), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत) लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *