कोरियन लगानी नेपाल भित्र्याउन एनआरएनए अध्यक्ष कुँवरको सक्रियता

कोरियाका पूर्वमन्त्री डा. लीसहित स्वदेश भ्रमणमा
news-details

गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवर केही बर्षदेखि नेपाल–कोरिया बारम्बार उडान गरिरहेका छन् । उनको यो सक्रियता कोरियन लगानी स्वदेश भित्र्याउनका लागि बढेको हो ।

अहिले दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीलाई साथमा लिएर स्वदेश आएका कुँवरले सरकारी उच्चपदाधिकारी तथा सम्बन्धित पदाधिकारीसँग भेटवार्ता गराइरहेका छन् । कोरियाका पुर्वमन्त्री डा. लीलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, लगानी बोर्डका कार्यकारी अधिकृत शुसिल भट्ट, गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, प्रभु बैंकका उच्च टिमसँग भेटवार्ता गराएका छन् ।

नेपालको भ्रमणमा रहेका पूर्वमन्त्री लीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे । कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गरेका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लािग नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए । उनले दक्षिण कोरियाले सही नेतृत्वका कारण विकशित राष्ट्र बन्न सकेको बताए ।


उनले भने, “नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनलाई अवसरका रुपमा लिन सके नेपालले पनि विकासमा छलाङ मार्न सक्छ । नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाट लगानी र प्रविधि ल्याउन समन्वय गर्छौ ।”

हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एशोसियसनका अध्यक्ष समेत रहेका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी भित्र्याएर विकास गरेको स्मरण गरे । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिए ।

साताव्यापी नेपाल भ्रमणमा आएका लीले अर्थमन्त्री, लगानी वोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरुसँग भेट गरी लगानीका सम्भावनाका बारे भेटवार्ता गरेको थियो ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पूर्वमन्त्री लीको नेपालप्रतिको सद्भावका लागि धन्यवाद दिंदै नेपालले ली जस्तै लगानीकर्तालाई लगानीका लागि आह्वान गरे । उपाध्यक्ष श्रेष्ठले आयोग १६औँ पञ्चवर्षीय योजना निर्माणमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखी आयोजनामा ध्यान दिने बताए ।

त्यसैगरी भेटका क्रममा लगानी बोर्डका सिइओ भट्टले सुरक्षाको ग्यारेण्टी सरकारले गरेको बताउँदै ढुक्क भएर लगानीको गर्न आग्रह गरेका थिए । केही कानूनी जटिलता भए त्यसमा आफूहरुले सहजीकरण गर्न तयार रहेको समेत भट्टले बताए ।

कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका लिले प्रभु बैंकका पदाधिकारीसँग समेत छलफल गरेका छन् । बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितको बैठकमा लीले देश विकासमा बैंकहरुको लगानीकर्तालाई आकर्षण गर्न महत्वपूर्ण भूमिका हुने भन्दै त्यसको लागि प्रभु बैंकले भूमिका खेल्न सुझाव दिए । छलफलमा सिइओ शेरचनले आर्थिक अवस्था सहज हुँदै गइरहेको भन्दै वैदेशिक लगानीको सुरक्षा वातावरण गर्ने समेत प्रतिवद्धता जाहेर गरेका थिए ।

त्यसैगरी नेपाल भ्रमणमा रहेका लीले गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसँग भेटवार्ता गरेका छन् । गोदावारीमा मोनोरेल संचालन र कोरियाको नगरपालिकासँग सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

संघका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकशित राष्ट्रले अवलम्वन गरेको विकाशको मोडल भित्राएर छिट्टै विकास गर्न सकिने र त्यसका लागि गैरआवासि नेपालीले भूमिका खेल्ने धारणा राखेका थिए ।

सो अवसरमा सङ्घका पूर्वउपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दीपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याललगायतले नेपाललाई मोनोरेल, साना किसिमका सहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका माध्यमबाट विकास गर्न सकिने धारणा राखेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *