गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रर्बद्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहकाबीच भर्चुअलरुपमा टरबाईन सञ्चालन गरी समुदघाटन गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउदै गोरखा जिल्लामा हाइड्रोको विकासको शुरुवात भएको उल्लेख गरे । उनले यस आयोजनाले स्थानीयलाई रोजगारको प्रत्याभूत गराएकोमा लगानीकर्तालाई धन्यवाद पनि ब्यक्त गरे ।
उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाऊदै अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि विकास निर्माणको काममा लाग्ने बताए । प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले यस हाइड्रोको उदघाटन गर्ने अवसर जुटाइदिएकोमा लगानीकर्ताहरुलाई विशेष धन्यवाद दिदै यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास लिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा सम्लग्न गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद ब्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे । उनले १३२ केभिएको ट्रान्समिसन लाईन निर्माणको लागी सरकारले तत्काल काम शुरु गर्ने बताउदै सरकारको अवको लक्ष्य शुसासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।

कार्यक्रममा गोर्खा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले गोरखाका विविध समस्याको वारेमा प्रधानमन्त्रीलाई जानकारी गराउदै १३२ केभिएको ट्रान्समिसन लाईन निर्माण तत्कालै गर्नुपर्ने बताए । उनले यस्को लागी जग्गाको कुनै समस्या नरहेको जनाउदै यो नबन्दा धेरै हाईड्रोहरुलाई समस्या भएको बताए । बजगाईले गोर्खामा बुढीगण्डकी सङ्गै अन्य धेरै हाईड्रोको प्रचुर सम्भावना रहेको जनाउदै विकास हाईड्रोका लगानीकर्तालाई थप सफलताको लागी शुभकामना दिए ।
कार्यक्रममा विकास हाईड्रो पावरले आफ्नो उत्पादन शुरू गरेकोमा सहकार्य गर्ने सबै र आफ्नो ब्यस्त समयको बाबजुद कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री प्रचण्ड,गोर्खा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाई,गोर्खाका स्थानीय निकायका पदाधिकारीहरुलाई हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले विशेष धन्यवाद ब्यक्त गरे ।
यस हाईड्रोमा गैरआवासीय नेपालीहरूको ठुलो लगानी रहेको एनआरएनए आईसिसिका सचिव एबं हाइड्रोका अध्यक्ष न्यौपानेले बताए । उनले कम्पनीलाई आजको यस अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गरेका छन ।
यस कम्पनीको नेतृत्व गैरआवासिय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन भने सञ्चालक समितिको प्रवन्ध निर्देशकमा कृष्ण प्रसाद घिमिरे, निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठ लगायतका युवा ब्यवसायिहरु रहेका छन ।
एनआरएनएका कोषाध्यक्ष एबं हाईड्रोका लगानीकर्ता लोक दाहालले दिईएको समयसिमामा कैयौ हाईड्रो नबनेको अवस्थामा विकास हाईड्रो भने ६ महिना पहिले नै निर्माण सम्पन्न गरेकोमा अध्यक्ष न्यौपाने र ब्यवस्थापन टिमलाई धन्यवाद ब्यक्त गरे ।
उक्त हाइड्रो सम्पन्न गरेलगत्तै अर्को हाइड्रो पनि निर्माण शुरु गरिने संचालकहरुले कार्यक्रममा नै घोषणा गरेका छन ।

गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको बुढि गण्डकी नदिको सहायक नदि माछा खोलामा करिब १ अरब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी रहेको छ । यस आयोजनाले नेपाल बिद्युत प्राधिकरणसंग बिद्युत खरिद बिक्री संम्झौता अनुुसार २०८० साल आषाढ ३० गते बिद्युत उत्पादन संम्पन्न गर्ने लक्ष्य रहेपनी सो मिति भन्दा ६ महिना अगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरि उत्पादन सुरु गरेको छ ।
यस आयोजनाले निमार्ण अवधिमा सो क्षेत्रका १५० भन्दा धेरै स्थायिनलाई रोजगारी प्रदान गरेको थियो भने हाल आयोजना निर्माण सम्पन्न पश्चात आयोजना सञ्चालनका लागि २० भन्दा माथि ब्यक्तिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी अवसर प्रदान गरेको जनाएको छ ।
विकास हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा सञ्चालित यस आयोजनामा गैरआवासिय नेपालीहरुसँगै स्वदेशी ब्यावसायीहरुको उत्साहजनक सहभागिता र लगानी रहेको छ ।








