गैरआवसिय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ ।

एनआरएनएका अध्यक्ष अध्यक्ष बिनोद कुँवर नेतृत्वमा बुधबार आयोगका उपाध्यक्ष डा. श्रेष्ठलाई भेटी एनआरएनहरुले विगतदेखि उठाउँदै आएका मुद्धाको संवोधन गरिदिन आग्रह गरेको छ ।

भेटवार्ताका क्रममा संघका अध्यक्ष कुँवरले विदेशबाट धेरै मात्रामा लगानी ल्याउन सकिने भएता पनि नेपालको झण्झटिलो नीति नियमका कारण लगानी ल्याउन नसकिएको बताए । अध्यक्ष कुँवरले भने–‘नेपालमा बिदेशी लगानी ल्याउन तयार छौ तर झन्झटिलो कानुनी व्यवधान हटाई दिन र बिदेशी साझेदारसँग मिलेर खोलिएका कम्पनीहरुलाई सहज वातावरण बनाइदिन आग्रह गर्दछु ।’

विदेशबाट स्वदेशमा ल्याएको लगानीको सुरक्षा सरकारले गरिदिने हो भने अझ धेरै लगानी ल्याउन एनआरएनएले सहजिकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाल सरकार एनआरएनहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउँदै अहिले रहेका कानूनी व्यवधानहरुलाई सहजिकरण गर्दै लैजाने योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बताए ।

एनआरएनए–राष्ट्रिय योजना आयोग उपाध्यक्ष भेटवार्ता

भेटवार्तामा एनआरएनएकी महासचिव जानकी गुरुङ, युवा ब्राण्ड एम्बेसडर दिपक खत्री, संघका प्रमुख कार्यकारी अधिकृत राजेश राणाको उपस्थिती रहेको थियो ।