प्रधानमन्त्री पुष्पकमल दाहाल र गैरआवासीय नेपाली संघका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम र सरकारको तर्फबाट सम्बोधन गर्नुपर्ने नीतिगत र कानुनी सुधारबारे धारणा राख्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिन ।

उक्त भेटघाटमा एनआरएनएका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउँदै ती कठिनाईलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री र एनआरएनएबीच भेटवार्ता, विदेशमा रहेका नेपालीको मन जित्ने गरि काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले संघका तर्फबाट राखेका थिए ।

उक्त भेटघाटमा एनआरएनएका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरेका थिए । ‘एक पटकको नेपाली सधैको नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरेका थिए । अध्यक्ष आचार्यले दुबै संसदबाट पास भएको नागरिकता बिधेयक यो सरकारले छिटो भन्दा छिटो गर्नेमा बिश्वस्त रहेको बताए ।

उक्त भेटघाटमा एनआरएनएका अध्यक्षहरुको जवाफमा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका लाखौ नेपालीहरुको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले विदेशमा लाखौं नेपालीहरु रहेको र आफुले दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरेको र अब मेरो तेस्रो इनिंगमा विदेशमा बस्ने बहुसंख्यक नेपालीको माग पुरा गरि मन जित्ने बताए ।

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए ।

प्रधानमन्त्री र एनआरएनएबीच भेटवार्ता, विदेशमा रहेका नेपालीको मन जित्ने गरि काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

संघको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले भने नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तेस्लाई हटाउदै गैर आवासीय नेपालीलाई विश्वस्त पार्दै त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।

विदेशमा रहेका नेपालीहरुले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री प्रचण्डले आभार व्यक्त गरे । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरु थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्रीले खुशी व्यक्त गरेका छन ।

भेटका अवसरमा पूर्व अध्यक्ष एबं संरक्षक भवन भट्ट, संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आर.के शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वासिद, संघका पूर्व सल्लाहकार टि.बि. कार्की, मध्यपूर्व क्षेत्रीय उपसंयोजक अमित चाम्लिङ राई, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजिवन सदस्य (युएसए) नारायण थापा, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।