नवनिर्वाचित सांसदहरुमाथि एनआरएनएको अपेक्षा

news-details

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीतर्फ नवनिर्वाचित सांसदहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

संघले नवनिर्वाचित सांसदलाई एनआरएनएले अहिलेसम्म गरेको काम र प्रगतिका बारेमा जानकारी दिदै अझै थाति रहेका नीतिगत कार्य सम्पन्न हुनेमा अपेक्षा राखेको छ ।

संघका अध्यक्षत्रयले नवनिर्वाचित सांसदहरुलाई एक शुभकामना तथा बधाई सन्देश दिदै एनआरएनएले उठाउदै आएका केही मुद्धा अझै अपुरो रहेको हुँदा अवको संसदबाट पुरा हुने अपेक्षा राखेका छन् ।

एनआरएनएले नेपालमा महाभूकम्प आएको बेला होस् वा बाढीपहिरोको कहरले आक्रान्त भएका बेला होस नेपाली जन–जनलाई मल्हम लगाउन अनि कोभिड–१९ को महामारीको विषम् परिस्थितिमाझ विदेशमा रहेका नेपालीहरुले यथाशक्य सहयोग गर्दै आएको जनाएको छ ।

नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र करीब १० अर्ब बराबरको लगानी कोष भएको ‘एनआरएन नेपाल डेभलपमेण्ट कम्पनी’ दर्ता भइसकेको, वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ पारित भइसकेको हुँदा यसलाई संघले महत्वपूर्ण उपलब्धि ठानेको जनाइएको छ ।

संघले आफ्नो वक्तब्यमा भनेको छ –‘वैदेशिक रोजगारी तथा आप्रवासनलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनको लागि संघले नेपाल सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ । ‘हजारे अभियान’को रुपमा स्थापित गरिएको सामाजिक सुरक्षा कोषको अवधारणाकै विस्तृत योजनाका रुपमा भर्खरै मात्रै सरकारले ल्याएको ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ लाई संघले महत्वपूर्ण उपलब्धि ठानेको छ ।’

संघले स्थापनाकालदेखि नै उठाउदै आएको गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले सम्बोधन गरिसकेको र गैरआवासीय नेपालीलाई विदेशबाटै मताधिकारको व्यवस्थाका लागि संघले गरिरहेको पहललाई सरकारले सम्बोधन गर्ने विश्वास लिएको संघले जनाएको छ ।

संघले अब बन्ने सरकार, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य समेतले विभिन्न मागलाई आवश्यक सम्बोधन गर्न पहलकदमी र सहयोगका लागि अनुरोध गरेको छ । यस्तै गैरआवासीय नेपाली नागरिकतासमेत समावेश भएको नागरिकता विधेयकलाई मूर्तरुप दिन आवश्यक सहयोगको लागि पनि संघले आग्रह गरेको छ ।

गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी बाधा अड्चनलाई संशोधन गर्न अनुरोध गर्दै संघले भनेको छ– ‘नेपालमा रोजगारी सिर्जना, उद्यमशिलता तथा पूर्वाधार विकास र नेपालीको जीवनस्तर उकास्न सहयोग हुने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीहरुको लगानी प्रोत्साहित गर्न अनुरोध गर्दछौ ।’

दैनिक रुपमा १५ सयका दरले बैदेशिक रोजगारमा जाने युबाहरु अधिकांश अदक्ष कामदार हुने भएकोले नेपाली युबाहरुलाई सक्षम तथा दक्ष बनाउने कार्यक्रम तथा नीति सातै प्रदेशमा यथासक्दो छिटो शुरु गर्न पनि संघले माग राखेको छ ।
नेपाल धितो पत्र बोर्डले जारी गर्ने शेयरमा वैदेशिक रोजगारमा गएकाहरुलाई हाल १० प्रतिशत कोटा राखिएकोमा सो दायरा विस्तार गरि एनआरएनए कार्ड लिएका र नेपालमा रेमिट्यान्स खाता भएका सबैलाई समेट्न संघले आग्रह गरेको छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौँदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, साँस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचय पत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न र हालसम्म परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्था गर्न पनि संघले अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली सम्बन्धी कानूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानुन आयोगसँग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संबोधन गरी कानून ल्याउनको लागि पहल गर्न र कुनै पेशा, व्यवसाय, वा रोजगारी वा अध्ययनमा रहि कम्तिमा एक वर्षमा १८३ दिन लगातार विदेशी मुलुकमा बसोबास गरिरहेको नेपालीलाई गैरआवासीय नेपाली नागरिक सम्झनु पर्छ भनेर गैरआवासीय नेपाली सम्बन्धी ऐनको परिभाषामा समावेश गर्न संघले माग राखेको छ ।

नेपाल सरकारको सहकार्यमा र गैरआवासीय नेपाली संघको आयोजनामा सम्पन्न भएको पहिलो र दोश्रो विश्व विज्ञ सम्मेलनका सुझावहरुलाई कार्यान्वयमा ल्याउन पहल गर्न संघले आग्रह गरेको छ ।

दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुहरुलाई अध्ययन, रोजगारी, खेलकुद तथा अन्य माध्यमबाट नेपालसँग आबद्ध गराउनका लागि आवश्यक व्यवस्था र उनीहरुलाई नेपाली भाषाको ज्ञान दिन पाठ्य पुस्तकको प्रबन्धका साथै अन्य सिकाईका कार्यक्रमको व्यवस्था गर्नसमेत संघलले अनुरोध गरेको छ ।

त्यसैगरी संघले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको ज्ञान, सीप, पूँजीलाई स्थानीय तहमार्फत परिचालन तथा नीतिगत रुपमा सहयोग उपलब्ध गराउन, विदेशमा रहेका नेपालीहरुलाई नेपालको पर्यटन प्रवर्धनमा सहभागी गराउने उद्देश्यले एनआरएन सप्ताह आयोजना गर्नका लागि सहयोग गर्न पनि आग्रह गरेको छ ।

विभिन्न विषयमा विज्ञता हासिल गरी विदेशमा कार्यरत विज्ञ र सरकारका तीनै तहका प्रतिनिधिबीच समृद्ध मुलुक अभियानको लागि ज्ञान सीप आदान–प्रदान कार्यक्रम आयोजना गर्न आग्रह गर्दै संघले भनेको छ –‘गैरआवासीय नेपाली लक्षित विप्रेषण तथा लगानीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन तथा पुरस्कार र सम्मानको व्यवस्था गर्न आग्रह गर्दछौ ।’

गैरआवासीय नेपालीहरुलाई पर्यटन दूतमा नियुक्ति गरी नेपालको पर्यटन प्रवर्धनमा सहयोगको लागि प्रोत्साहन गर्न संघले नवनिर्वाचित सांसदहरुसँग माग राखेको छ ।

गैरआवासीय नेपाली संघले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विश्वका ८५ वटा मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद् गठन गरी आफ्नो सञ्जालमा विस्तार गरिसकेको जानकारी दिदै यस सञ्जालको माध्यमबाट संघले विश्वभरि फैलिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्नुका साथै, नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा समेत जोड्न सफल भएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *