विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा समेटने गरी ल्याइएको कार्यविधिप्रति एनआरएनएद्धारा खुसी व्यक्त

news-details

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजनामा समेटने गरी ल्याएको कार्यविधिप्रति गैरआवासीय नेपाली संघले खुसी व्यक्त गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा गत मंसिर २५ गते मन्त्रालयबाट स्वीकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिहरुका लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ र वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ सार्वजनिक गरेका थिए ।

‘सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि तयार गरी सार्वजनिक गरेको प्रति हार्दिक आभार प्रकट गर्दछौं’ संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका सभापति डिबी क्षेत्रीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपालमा सामाजिक सुरक्षा कोषको स्थापना भएदेखिनै गैरआवासीय नेपाली संघले यस कोषमा विदेशमा रहेका नेपालीलाई पनि समेटनका लागि पैरवी गर्दै आएको उपाध्यक्ष क्षेत्रीले बताए । ‘ओमानमा हजारे अभियानको प्रस्तावमाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भई पहिलो संविधानसभाबाट वैदेशिक रोजगारमा गएकाहरुलाई समेट्न ेगरी प्रस्ताव पारित गराएकोमा यस कार्यका लागि तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो’ उपाध्यक्ष क्षेत्रीले बताए ।

यस विषयमा संघले सरकारसँग विभिन्न चरणमा छलफल र समन्वय गर्दै आएको बताउदै उपाध्यक्ष क्षेत्रीले एक दशकभन्दा बढी समयपछि भएपनि संघको पहलले मूर्त रुप लिएकोमा खुसी व्यक्त गरे । ‘वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिकरुपमा जोडिन बाटो खुलेको छ, यो हाम्रो लागि गौरवको कुरा हो’ क्षेत्रीले भने –‘संघको तर्फबाट पटक–पटक विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडिनुपर्छ भन्ने विषय उठान गर्दै आएकोमा त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।’

सन् २०१३ गैरआवासीय नेपाली संघ ओमानमा हजारे अभियानको प्रस्तावनामाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भएको थियो । नेपाल सरकार र सरोकारवालाहरुबीच विभिन्न चरणमा छलफई सन् २०१६ मा सामाजिक सुरक्षा कोषमा सहकार्य गर्न संघ र सरकारबीच सम्झौता भएको थियो । त्यही वर्ष यस विषयमा सञ्चय कोषसंग पनि संघले सम्झौता गरेको थियो ।

‘लामो पहल र प्रयासपछि अहिले सन् २०२२ को अत्यमा आएर यो अभियानले सफलता पाएकोमा संघ नेपाल सरकार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ’ संघका उपाध्यक्ष क्षेत्रीद्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘वैदेशिक रोजगारीका क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउन नेपाल सरकारसँग सहकार्य र समन्वय गरी यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्न चाहान्छौं र सरकारले संघप्रति गरेको विश्वास र हामीले सरकारमाथि गरेको भरोसा मिलाएर यो अभियानलाई सफल बनाउन प्रतिबद्धता जनाउछौ ।’

वैदेशिक रोजगारीमा रहेका नेपाललीलाई सामाजिक सुरक्षामा समेटने गरी ल्याइएको कार्यविधि एनआरएनएको लागि एउटा उपलब्धि र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्यायको सुरुवात भएको बताउदै उपाध्यक्ष क्षेत्रीले यस महान कार्यलाई सफल बनाउन भूमिका खेल्ने नेपाल सरकार, सरकारी अधिकारीहरु, सरोकारवालाहरु, सम्पुर्ण गैरआवासीय नेपाली अभियन्ता तथा अग्रजहरु, सञ्चारकर्मी एवं सम्बन्धित सबैलाई संघकोतर्फबाट धन्यबाद ज्ञापन गरे ।

अनौपचारिक र स्वरोजगार क्षेत्रको कार्यविधि आगामि वैशाख १ बाट र वैदेशिक रोजगार क्षेत्रको कार्यविधि स्वीकृत भएको ९० औ दिनबाट प्रारम्भ हुने कार्यविधिमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *